२०८२ कार्तिक १९, मङ्गलवार , १०:०७:५६ बजे

Sajhamanch
'

नवलपरासीको दाउन्ने खण्ड आउँदो पुस १५ सम्म एकतर्फी सञ्चालन गरिने

मङ्गलवार, कार्तिक १९, २०८२

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ । नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सूचना निकालेर दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने काम सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार निर्माणको काम हुँदा दुईतर्फी गाडी आवतजावत गर्दा काम प्रभावित हुने भएकाले एकतर्फी सञ्चालन गर्न लागिएको हो ।

आयोजना निर्देशनालयका अनुसार आउँदो पुस १५ गतेसम्मका लागि दाउन्ने खण्ड एकतर्फी रूपमा सञ्चालन गरिनेछ । दाउन्नेमा पानी पर्दा सडक चिप्लो र हिलो हुने भएकाले यातायात प्रभावित हुँदै आएको छ । दाउन्ने खण्ड प्रयोग गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी उपरीक्षक खड्काले अनुरोध गर्नुभएको छ ।

यो खण्डमा अवरोध भएमा वैकल्पिक रूपमा नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा गैँडाकोट कालीगण्डकी चोक–रामपुर–पीपलडाँडा–पाल्पा–बुटवल तथा मोटरसाइकल तथा साना चारपाङ्गे्र गाडीले दुम्किबास–डाँडाजोर–डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्न सक्छन् ।

मङ्गलवार, कार्तिक १९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर