२०८२ कार्तिक १८, सोमवार , ०८:१२:३१ बजे

Sajhamanch
'

पुलिस क्लबको विजयी सुरुवात, चर्च ब्वाइज ८–० ले पराजित

सोमवार, कार्तिक १८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधे रंगशालामा आज एलभिडी झापा महिला गोल्डकपको उद्घाटन भएको छ ।

उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलमा पुलिसले अर्को ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

पुलिसका तर्फबाट मिना देउवाले पाँच गोल र रेखा पौडेलले ह्याट्रिक गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । रेखाले खेलको ३७औं, ८०औं र इन्ज्युरी समयमा गोल गरिन् भने मिनाले ५१औं, ६०औं, ६२औं, ६८औं र ८१औं मिनेटमा पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन् ।

खेलको सुरुवाती समयमै पुलिसले आक्रमणात्मक खेल प्रस्तुत गरेको थियो । चौथो मिनेटमा पूजा रानाको फ्रि–किक गोलपोष्टबाट बाहिरिए पछि सातौं मिनेटमा रेखा पौडेलको प्रहार चर्चकी गोलकिपर करुणा बुढाथोकिले रोकेकी थिइन् ।

१५औं मिनेटमा चर्चकी प्रतिक्षा मल्लले लिएको पहिलो अन टार्गेट सट पुलिसकी गोलकिपर उषा नाथले सजिलै नियन्त्रण गरेकी थिइन् । त्यसपछि पनि पुलिसले लगातार दबाब बनाउँदै अवसर सिर्जना गरे पनि पहिलो गोल ३७औं मिनेटमा मात्र सम्भव भयो । मिना देउवाको क्रसमा रेखा पौडेलले आकर्षक फिनिस गरिन् ।

दोस्रो हाफमा पुलिसले खेललाई पूर्णरूपमा आफ्नो पकडमा राख्यो । मिनाले लगातार पाँच गोल गर्दै व्यक्तिगत उत्कृष्टता प्रदर्शन गरिन् । ८०औं मिनेटमा रेखा पौडेलले ३० यार्ड टाढाबाट गरेको लामो सटले चर्चको जाली चुम्दा गोलकिपर करुणा निरिह बनिन् ।

त्यसपछि मिनाले ८१औं मिनेटमा टोलीका लागि सातौं गोल गर्दै व्यक्तिगत पाँचौं गोल गरिन् । खेलको अन्तिम समयमा रेखाले गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

प्लेयर अफ द म्याच पुलिसकी मिना देउवा घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । पुरस्कार वितरण शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, गोल्डकप अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले संयुक्त रूपमा गरे ।

भोलि हुने दोस्रो क्वार्टरफाइनल खेलमा एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

सम्बन्धित खबर