
उदयपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले भयरहित वातावरण नबनेसम्म नेकपा एमालेले घोषित प्रतिनिधिसभाको चुनावमा सहभागी नहुने बताउनु भएको छ ।
सोमबार नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञावालीले यस्तो अडान सुनाउनु भएको हो । भदौ २३ र २४ गतेको घटना पछि मुलुक निकै ठूलो दलदलमा गुज्रिरहेकोले यस्तो अवस्थामा चुनावमा कसरी जान सकिन्छ ? ज्ञावालीले सरकारलाई प्रश्न गर्नुभयो ।
भदौ २३ र २४ गतेको घटना पछि जेलबाट भागेका झन्डै साढे ५ हजार कैदी बन्दीहरु अहिले पनि जेल बाहिर रहेको, प्रहरीबाट लुटिएका आधाभन्दा धेरै हतियार अहिले पनि बाहिर भएको अवस्थामा चुनाव कसरी भयरहित तरिकामा सम्पन्न हुन्छ ? उहाँको प्रश्न छ ।
जनताले आफूलाई सुरक्षित महसुस गरेर कसरी निर्धक्क मतदानमा सहभागी हुन सक्छन् भन्ने आफूहरुको प्रश्न रहेकोले यो अवस्थामा चुनाव हुन नसक्ने निश्कर्षसहित एमालेले यथास्थितिमा चुनावमा नजाने निर्णय गरेको नेता ज्ञवालीले बताउनु भयो ।
नेकपा एमाले निरंकुश राजतन्त्रसहितको पञ्चायतदेखि शाही कू बिरुद्धमा लडेर आएको पार्टी भएको र आफूहरुको मूलमन्त्र जनताको बहुदलीय जनवाद रहेकोले चुनावमा नजाने, चुनावबाट भाग्ने भन्ने प्रश्नै नहुने भए पनि चुनावमा सहभागी हुने दल र आम मतदातालाई भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन नसकुञ्जेल एमालेले चुनावमा भाग नलिने निर्णय गरेको उहाँको भनाई छ ।
नेता ज्ञवालीले आफूहरु विघटित संसदलाई पुनस्र्थापित गरेर सदनबाटै संविधान संशोधन मार्फत अहिलेको समस्याको समधान गर्नुपर्ने पक्षमा रहेको समेत बताउनु भयो ।
एमालेले संसद पुनस्र्थापनाको माग फेरि सत्ता र कुर्सीको मोहले गरेको नभएर संविधानतः देशलाई एउटा निकासको बाटोमा लैजान गरेको हो, नेता ज्ञावालीले प्रष्ट पार्नुभयो ।
उहाँले संविधानले अहिलेको सरकारलाई समेत नचिन्ने अवस्था रहेको र मुलुकमा चुनाव हुने वातावरणसमेत नबनेको अवस्थामा मुलुकलाई अस्थिरता र अनिर्णयको बन्दीबाट स्थिरता र निकासको बाटोमा लैजान संसद पुनस्र्थापना गरेर यही संविधानमा एउटा धारा थप गरेर अहिलेको आन्दोलनको भावना अनुसार सरकार गठन गरी उक्त सरकारबाट निर्वाचन गराउँदा हित हुने दावी पनि गर्नुभयो ।


