२०८२ कार्तिक १८, सोमवार , ०४:२५:३७ बजे

Sajhamanch
'

हटाइएका कर्मचारीलाई मेचीनगरले पुनः काममा फर्कायो

सोमवार, कार्तिक १८, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरुन्जेलका लागि यसअघि हटाइएका अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूलाई पुनः काममा फर्काउने निर्णय गरेको छ।

आज सोमबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ती कर्मचारीहरूलाई अस्थायी रूपमा पुनः काममा फर्काउने निर्णय गरेको हो ।

यसअघि नगरपालिकाले संघीय सरकारको परिपत्र अनुसार ती कर्मचारीहरूको करार सम्झौता रद्द गरी कात्तिक १ गतेदेखि हाजिर नगराउने निर्णय गरेको थियो।

तिहारको मुखमा १३८ जना कर्मचारी हटाइएको विरोधमा नेकपा (एमाले), नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरूले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।

यस्तै, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन मेचीनगर इकाइले पनि वर्षौंदेखि निरन्तर काम गरिरहेका कर्मचारीलाई निकाल्न नमिल्ने भन्दै आन्दोलन सुरु गरेको थियो।

कार्यरत कर्मचारीहरुलाई अकस्मात कात्तिक १ गतेदेखि विदा गर्दा कतिपय वडा कार्यालयहरुमा सचिवमात्र रहेका थिए । जसका कारण आवश्यक सेवा प्रवाह शून्यमा झरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार स्थायी पदपूर्ति प्रक्रिया पूरा भएपछि प्रतिस्पर्धामा सफल हुने कर्मचारीहरू स्थायी हुने र असफल हुनेहरू बिस्तारै हट्ने व्यवस्था हुनेछ।

कोशी प्रदेशबाट स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढाउने परिपत्र आएपछि आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्ने सहमति एशोसिएसनसँग समेत भएको अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर