
इलाम । आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतादाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् ।
फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार गएको असोज ८ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताको सङ्ख्या इलाममा दुुईलाख २७ हजार तीन रहेको छ । यी मध्ये पुरुष मतदाताको सङ्ख्या एक लाख १७ हजार ४३ र एक लाख ९ हजार ९५८ रहेको छ । असोज ९ गते पछाडि पनि नयाँ मतदाताको रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बातउनुभयो।
नयाँ मतदाताका रुपमा अहिले सम्ममा २९७ जनाले फोटो खिचाएका छन् । यी मध्ये नेपालको नागरिकता बनाएर फोटो खिचाउन आएका कोही १६ वर्ष उमेर पुुगेका मात्र पनि रहेका छन् भने कोही १८ वर्ष पुरा भएका छन् । ‘अब फागुन २० गते सम्म जो–जो १८ वर्ष पुरा गर्छन् उनीहरुको नाम माथिबाटै मतदाता नादमावलीमा आउँछ ।’ लिम्बूले भन्नुभयो ‘अझै आगामी कार्तिक ३० गते सम्म फोटो खिचाउने समय बाँकी छ ।’
लिम्बूका अनुसार अहिले जिल्ला अन्तर,पालिका अन्तर पनि मतदाता नामावलीको नाम सारीको काम पनि भइरहेको छ । ‘कोही इलामबाट अन्य जिल्लामा जाने छन् भने कोही अन्य जिल्लाबाट इलाम आउने पनि छन्,’ लिम्बूले भन्नुभयो, ‘जिल्ला भित्रका पालिकाबाट पनि नाम सारीको लागि आउने धेरै छन् ।’ अहिलेसम्म ११९ जना मतदाताको नाम सारीको काम भएको लिम्बूले जानकारी दिनुु भयो । यस्तै ६६ जना मृत्यु भएका मतदाताको नाम भने मतदाता नामावलीबाट हटाइएको छ ।


