२०८२ कार्तिक १७, आइतवार , ०१:४२:४८ बजे

Sajhamanch
'

१७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

आइतवार, कार्तिक १७, २०८२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ ।

पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामो समयका लागि मौद्रिक उपकरणको प्रयोग गर्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।

गएको बुधवार पनि राष्ट्र बैंकले बजारबाट १७५ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यति धेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालीन रूपमै निक्षेप व्यवस्थापनमा लागेको यसबाट प्रष्ट देखिएको छ ।

अहिले कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । केन्द्रीय बैंकका अनुसार ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज आउँदो वैशाख १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।

यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटक–पटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

आजको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदर अनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

सम्बन्धित खबर