
काठमाडौं । उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्स र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हिलो भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार नर्सहरूले आजदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिने र सरकारले आन्दोलनका क्रममा उठाएका माग तथा सहमति कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।
निजी मेडिकल कलेज तथा ठूला निजी अस्पतालले यही महिनादेखि नै नर्सलाई पूर्ण रूपमा सरकारी पाँचौ तह ३४ हजार सात सय ३० न्यूनतम पारिश्रमिक तलब दिने सहमति भएको छ ।
त्यसैगरी निजी अस्पतालले क्षमताअनुसार अहिलेलाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनामा अस्पतालको वर्गीकरण गरेर सरकारी सरह तलब पुर्याउने सहमति भएको डा।बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस विषयमा अध्ययन र आवश्यक सिफारिस गर्न गठित कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेश गरेपछि बाँकी अस्पतालले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिनुपर्नेछ । यसअघि सरकारले नर्सका माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको थियो ।
हिजोको वार्तामा स्वास्थ्य मन्त्री डा। सुधा शर्मा गौतमसहित मन्त्रालयका सचिव डा। विकास देवकोटा, प्रवक्ता बुढाथोकीसहित नर्सिङ सङ्घ तथा निजी मेडिकल कलेजका पदाधिकारीको उपस्थिति रहेको थियो ।


