२०८२ कार्तिक १७, आइतवार , ०७:२०:३४ बजे

Sajhamanch
'

मौसममा आजदेखि थप सुधार हुने

आइतवार, कार्तिक १७, २०८२

काठमाण्डौ । मौसममा आजदेखि थप सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसम क्रमिक सुधार हुँदै गएकोमा आज थप सुधार हुनेछ ।मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । आज केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा आज पनि सामान्य वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । पहाडी भागमा मौसम बदली भए पनि बाँकी भागमा भने आज मौसम सफा रहने अनुमान छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।यसपालि कात्तिक दोस्रो हप्ता मोन्था चक्रवात, अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा धानबालीमा ठूलो क्षति पुगेको छ । हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा पनि प्रभावित बनेको छ ।

सम्बन्धित खबर