
झापा । जिल्ला प्रशासन कार्यालय इलामले भोलि बिहीबार बेलुका ७ बजेदेखि १४ गते बिहान बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ ।
मौषमविद्हरुले बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको कारण पूर्वी जिल्लाहरुमा अत्याधिक वर्षा हुने बताए पछि सोबाट हुने जोखिमलाई मध्यनजर राखेर मेची राजमार्गको इलाम खण्डमा बिहीबार राति सवारी चलाउन रोक लगाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले आज एक सूचना प्रकाशन गरी उक्त रोक लगाएका हुन् । सूचनामा असोज गत १८ गतेको बाढी पहिरोका कारण इलाम जिल्ला बढी प्रभावित भएको छ । पहिरोले अवरुद्ध मेची राजमार्ग दुई साता बन्द भएको थियो । वर्षा हुँदा पहिरोको जोखिम हुने भएका कारण १३ कात्तिक साँझ ७ बजेदेखि सवारी चलाउन रोक लगाइएको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म चक्रवातको प्रभाव पर्नेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंले जारी गरेको सूचनामा मेची राजमार्गको धेरै स्थानमा जोखिम भएका कारण सम्भावित दुर्घटनालाई रोक्न राति सवारी आवागमनमा रोक लगाइएको हो ।


