२०८२ कार्तिक १२, मङ्गलवार , ०५:०५:०० बजे

Sajhamanch
'

हिमपातबाट मुस्ताङमा आठ हजार पर्यटक प्रभावित

मङ्गलवार, कार्तिक १२, २०८२

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा बाक्लो हिमपात र वर्षा भइरहँदा त्यहाँ झन्डै आठ हजार पर्यटक प्रभावित भएका छन्।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले नीलगिरि र धवलागिरि हिमाल आसपासका क्षेत्रमा व्यापक मात्रामा हिमपात र वर्षा भइरहँदा जिल्ला प्रवेश गरेका पर्यटक प्रभावित भएको जानकारी दिनु भएको हो।

उनका अनुसार हिमपात र वर्षाका कारण आवागमनमा समस्या भएको छ। पर्यटक पनि प्रभावित भएका छन्। ‘जनजीवन र आवागमन प्रभावित भएको छ। हिउँ परेर कुनै क्षति भएको जानकारी प्राप्त भएको छैन’, उहाँले भन्नुभयो।

परियारले मुस्ताङमा झन्डै आठ हजार पर्यटक रहेको जानकारी दिए। उनका अनुसार सोमबार जिल्लामा पाँच हजार तीन सय पर्यटक भित्रिएका थिए। यसैगरी आठ हजार ८९६ जना पर्यटक बाहिरिएका थिए। परियारले भन्नुभयो, ‘जिल्लाका विभिन्न क्षेत्रमा रहेका झन्डै आठ हजार पर्यटक प्रभावित भएका छन्।’

राससका अनुसार प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीदेखि माथि बस्ती तथा उच्चलेकमा हिमपात भइरहेको छ। मुक्तिनाथ मन्दिर र त्यसआसपासका क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन।

बारागुङ मुक्तिक्षेत्र(३ छुसाङदेखि तल्लो क्षेत्रका बस्तीमा निरन्तर वर्षा भइरहेको छ भने बस्तीदेखि माथिका उच्चलेकमा हिउँ परेको छ। मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी सकसमा परेका छन्। वर्षासँगै हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीलाई हिउँले सास्ती पुर्‍याएको छ।

मुक्तिनाथ पुगेका दर्शनार्थी हिमपातसँगै चिसो अत्यधिक बढेका कारण र स्नानकुण्डमा हिउँ जमेका कारण स्नान गर्ने र १०८ धारामा नुहाएर मन्दिरको दर्शन गर्नसक्ने अवस्था नरहेको बताइएको छ।

जसोतसो मुक्तिनाथ दर्शन गरी फर्किएका सवारीसाधन तथा यात्रु सडकमा जमेको हिउँका कारण खिंगाबाट तल झर्न सक्ने अवस्था नरहेको बारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रवेश गुरुङले जानकारी दिनु भएको छ।

प्रहरी प्रशासनले पनि कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्नु भनेर अनुरोध गरेको छ। अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजीवन प्रभावित भए पनि हिउँका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको प्रशासनको भनाइ छ।

मनाङ हुँदै थोरङला पदमार्ग, जोमसोम, ठिनी हुँदै तिलिचो जाने नमुखलेकदेखि मेसोकोन्दो पास पदमार्ग र धौलागिरि आइसफलको धम्पुस पिक पदमार्गलगायत स्थानमा बाक्लो हिउँ पर्दा पदमार्ग अवरुद्ध भएका छन्।

उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ पर्दा सवारीसाधन जान सकस छ। स्थानीय प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरी उच्च स्थानका पर्यटकीय पदमार्गमा यात्रा नगर्नसमेत आग्रह गरिसकेको छ।

हिमपातले यहाँ स्याउलगायत अन्नबालीलाई राम्रो फाइदा पुग्ने कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङ बताउँछन्। हिउँदयामको पूर्वसन्ध्यामा परेको हिउँले स्याउ, उवा, फापर, जौ, मकैलगायतका अन्नबाली उत्पादनमा सिँचाइको काम गर्ने जनाइएको छ।

मङ्गलवार, कार्तिक १२, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर