
मोरङ । जाडो छल्न विगतमा झैँ यसवर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन् । उत्तरी ध्रुवमा हिमपातको शुरूआतसँगै जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा आइपुगेका छन् ।
विगतका विवरण हेर्दा असोज दोस्रो हप्तादेखि आउन थालेका पर्यटक चरा करिब ६ महिना नेपाल रहने र त्यसपछि फर्कने चिनियाँ विज्ञान प्रतिष्ठानका उपप्राध्यापक एवम् चरा अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालले बताउनुभयो ।
बर्सेनि झन्डै १५० प्रजातिका चरा रुस, कीर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेका छन् ।
त्यसमध्ये केही प्रजातिका चरा नेपालको बाटो हुँदै दक्षिण भारतसम्म जाने गर्दछन । नेपाललाई आकर्षक र सुरक्षित गन्तव्य मानेर आउने पर्यटक चरा गएका वर्षभन्दा घट्दो क्रममा रहेकाले बासस्थान सुरक्षित र व्यवस्थित गर्न सबै सरोकार भएका निकाय लाग्नुपर्नेमा उपप्रध्यापक कटुवालले जोड दिनुभयो । उहाँका अनुसार सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको बासस्थान मानिन्छ ।


