
काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि १ हजार ४०१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ५७ वटा हिमाल आरोहणका लागि ३२९ महिलासहित १ हजार ४०१ जनाले अनुमति लिएका हुन् ।
सबैभन्दा धेरै आमाडब्लम हिमाल आरोहणका लागि ३९९ जनाले अनुमति लिएका छन् । यस्तै दोस्रोमा मनास्लु हिमालका लागि ३७४ जनाले अनुमति लिएका छन् ।
हिमाल आरोहणका लागि अनुमति दिएबापत सरकारले यस वर्षको शरद् ऋतुमा १४ करोड ९७ लाख रुपैयाँभन्दा धेरै रोयल्टी सङ्कलन गरेको छ । यो रकम गएको वर्षको शरद् ऋतुमा सङ्कलन भएको रोयल्टीको तेब्बरभन्दा धेरै हो । गएको वर्ष १ हजार २८० जनालाई अनुमति दिँदा ७ करोड ६३ लाख रुपैयाँ सङ्कलन भएको थियो ।
यस वर्ष आरोहीको सङ्ख्या १२२ जना मात्रै बढी भए पनि सरकारले आरोहण रोयल्टी बढाएका कारण रोयल्टी सङ्कलन तेब्बरभन्दा धेरै भएको हो ।
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणको मुख्य सिजन भने वसन्तयाम हो । अहिले शरद्यामको आरोहण चलिरहेको छ ।
यसैबीच आमाडब्लम हिमाल आरोहणका क्रममा शुक्रवार १ फ्रेन्च नागरिक र हिजो १ कोरियन नागरिकको ज्यान गएको पर्यटन विभागले जनाएको छ ।


