२०८२ कार्तिक १०, आइतवार , ०७:०५:५७ बजे

Sajhamanch
'

नदी किनारमा छठ पूजाको तयारी तीव्र

आइतवार, कार्तिक १०, २०८२

झापा । सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर देशभर छठ पर्व मनाइँदैछ । यसको तयारीका लागि तराई क्षेत्र भएर बग्ने नदी, खोला, खोल्सी, पोखरीहरु सजावटको काम लगभग सकिएको छ ।

झापामा मेची, नन्दा, हडिया, देउनिया, बिरिङ, कनकाइ लगायतका खोना र नदीहरु तथा विराटपोखरजस्ता पोखरीहरुमा मण्डप निर्माण गरी भव्य रूपमा छठ पूजा गर्ने तयारी गरिएको छ ।

कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा भव्य रूपमा छठ पूजा सम्पन्न गर्नका लागि तयारी तीव्र गतिमा अगाडि बढाइएको छ ।

तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगाली लगायत यहाँ रहेका सबै जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजा गरिने गरिएको छ ।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापा सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाउँदै आएको छठ पर्वमा ३ हजार बढी पूजास्थल निर्माण गरी करिब ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट पूजा गर्ने गरी व्यवस्थापनमा आयोजक लागिरहेको जनाइएको छ ।

पूजा स्थलका लागि नेपाल भारतका सुरक्षाकर्मीले सम्युक्त गस्ति गर्नेछन् भने विभिन्न सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि निःशुल्क पानी तथा चियाको व्यवस्था गर्ने जनाएका छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका बासिन्दाहरुले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन र दोस्रो दिन सरसफाई तथा शुद्धताको काम गर्ने गरिन्छ ।

तेस्रो दिनको साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाको औपचारिक सुरूवात गर्ने र चौथो दिन बिहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न गर्ने गरिन्छ ।

यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका अगुवा विकास गुप्ताले जानकारी दिए । उनका अनुसार भद्रपुरको पूजा अवलोकन गर्न नेपाल भारतका गरी ५० हजार बढी भक्तजन आउने गरेका छन् ।

सहज अवलोकन र व्यवस्थित मण्डपका लागि पूजाको व्यवस्थापनलाई सहज बनाउन एक साता अघिदेखि नै आयोजकले तयारी तीव्र गतिमा अगाडि बढाइरहेको जनाइएको छ । नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरू यसै नदीमा छठ पर्व मनाउदै आएकाले भद्रपुरको छठ पूजाको छुटै विशेषता रहने गरेको छ । पूजा अवलोकन गर्न भद्रपुरमा हजारौ भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।

यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर आयोजकका रूपमा रहने गरेको छ । भद्रपुर नगरपालिका संरक्षक तथा विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलहरू सहयोगी निकायका रूपमा रहने गरेका छन् । दुवै देशका ब्रतालु भक्तजनहरुले मेची नदीमा आएर आ–आफनो पूजा स्थल बनाउने काम पूरा गरेका छन् ।

कतिपय भक्तजन पूजा स्थलमा व्यापारीकरण भएको गुनासो समेत गर्ने गरेका छन् । उनीहरूकाअनुसार पूजाका लागि मण्डप निर्माणको बाहनामा आयोजक संस्थाले महंगो भाडा असुल्ने गरेको छ ।

सम्बन्धित खबर