
झापा । २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजक समूहले ढालेका सुखानीका जेनजी शहिदहरुलाई उठाइएको छ। अर्जुनधारास्थित सुखानी स्मृति पार्कमा झिलमा तोडफोड गरी शहिदको शालिक ढालिएको थियो ।
सुखानी शहिद स्मृति प्रतिष्ठान उद्यान व्यवस्थापन समितिले डोरी लगाएर शालिक उठाएको छ। शहिदका शालिक अहिले डोरीको भरमा अढ्याइएको उद्यानका अध्यक्ष भैरव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार लढाइएका शहिदलाई दशैंअघि नै उठाइएको हो ।
पर्यटकीय स्थलका रुपमा विकास गरिएको सो ठाउँमा सुखानीका पाँच शहिदको शालिक राखिएको छ। पूर्ण रुपमा तोडफोड गरिएको शहिदका शालिकलाई खोलेर फेरि जडान गर्नुपर्ने भएको छ । अहिले अढ्याएको मात्र छ, अध्यक्ष खड्काले भन्नुभयो– ‘मिस्त्रिले आएर हेरेर गएका छन्, सबै खोलेर मसला भरेर मर्मत गर्नुपर्ने छ । मसला भरेर उभ्याएपछि मात्रै बलियो हुन्छ।’
अराजक समूहले तोडफोड गर्दा भाँचेको हात नयाँ बनाउनुपर्ने भएको छ । शालिक बनाइएको ठाउँ, र शालिककै मर्मतका लागि करिव १५ लाख रुपैयाँ खर्च लाग्ने मिस्त्रिहरुले जानकारी गराएका छन् ।
तत्कालिन पञ्चायत विरुद्ध भएको झापा विद्रोहका क्रममा ०२९ फागुन २१ गते कम्युनिस्ट आन्दोलनका योद्धा नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलाम झापाको सीमानामा गोली हानी हत्या गरिएको थियो ।
झापाबाट इलाममा जेल सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको घटनामा ज्यान गुमाएका कम्युनिस्ट आन्दोलनका योद्धालाई २०७२ सालमा केपी शर्मा ओलीको तत्कालीन सरकारले शहिद घोषणा गरेको थियो ।
उनीहरुको सम्झनामा सदाहत स्थलमा अर्धकदको शालिक बनाइएको छ भने सुखानी शहिद स्मृति प्रतिष्ठानले अर्जुनधाराको झिल क्षेत्रभित्र पूर्णकदको शालिक बनाएको छ ।
झापा विद्रोहका योद्धाहरु नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठको हत्या गरिँदा उनीहरु जेनजी उमेरका थिए । नेत्र घिमिरे २५ वर्ष, कृष्ण कुइँकेल १८ वर्ष, नारायण श्रेष्ठ १७ वर्ष र रामनाथ दाहाल ३४ वर्ष, विरेन राजवंशी ३१ वर्षको उमेरमा मारिएका थिए ।
परिवर्तनको आन्दोलनमा होमिएका तत्कालिन जेनजीहरु ५३ वर्षपछि भएको जेनजी आन्दोलनमै ढालिए । सुखानीका जेनजी शहिदको सालिक तोडफोडले लोकतान्त्रिक आन्दोलनका अग्रजहरुले दुख व्यक्त गर्दै आएका छन् ।


