२०८२ कार्तिक १०, आइतवार , ०१:०२:४६ बजे

Sajhamanch
'

पोखरामा पर्यटकीय गतिविधि बढ्यो : पर्यटन क्षेत्रमा मात्रै झन्डै ८ खर्ब रुपैयाँको लगानी

आइतवार, कार्तिक १०, २०८२

कास्की । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दशैँरतिहार तथा छठ पर्वसम्मको बिदा, खुला हिमाल र अनुकूल मौसमले पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो ।

अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फ्लायरजस्ता साहसिक खेलका कारण पोखरा नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य बनेको पर्यटन व्यवसायी बताउँछन् । यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले खस्केको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको छ । विभिन्न कारणले मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको व्यवसायीले बताएका छन् । विशेषगरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि आइरहेका होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

लामो बिदा र अनुकूल मौसमले अहिले लेकसाइडका ९० प्रतिशत होटेल भरिभराउ छन् । पोखरा हुँदै आसपासका पर्यटकीय गन्तव्यमा अन्नपूर्ण पदयात्रादेखि मुस्ताङसम्मको यात्रामा निस्केका आन्तरिक तथा केही बाह्य पर्यटकको आगमनले उत्साह थपेको व्यवसायीहरुको भनाइ छ । अध्यक्ष सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा अहिले झन्डै ८ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ ।

यसमध्ये झन्डै ६ खर्ब रुपैयाँ होटल व्यवसायमै लगानी भएको छ भने प्रत्यक्ष रूपमा झन्डै १५ हजार व्यक्तिले रोजगारी पाएका छन् । पोखरामा झन्डै १ हजार २०० पर्यटकीयस्तरका होटल सञ्चालनमा छन् ।

सम्बन्धित खबर