
झापा । शनिवार मात्रै झापामा तीन किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन पर्यो । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै छन् ।
शुक्रवार बिहान ६ बजे मेचीनगर ४ आमडाँगी पशुपति टोल बस्ने जगन्नाथ गिरीकी छोरी १७ वर्षीया मनिका गिरी कोही कसैलाई नसोधी आफूखुसी घरबाट हिँडेकी हुन् । उनी हालसम्म बेपत्ता भएपछि उनका बुवा जगन्नाथ गिरीले हिजो प्रहरी चौकी बाहुनडाँगीमा हुलियासहितको निवेदन दिएका छन् ।
त्यस्तै शुक्रवार दिउँसो १ बजे शिवसताक्षी नगरपालिका वडा नं.८ ढुङ्गेल चौक बस्ने कृष्णप्रसाद भण्डारीकी छोरी १६ वर्षीया दीक्षा भण्डारी घरमा कोही कसैलाई केही नभनी सम्पर्कविहीन भएकी थिइन् ।
छरछिमेक तथा आफन्तसमेतमा खोजतलास गर्दा फेला नपरेपछि उनका बुवा कृष्णप्रसाद भण्डारीले हिजो इप्रका झिलझिलेमा हुलियासहितको निवेदन दिएका थिए । उनी गएराति भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो ३ः३०बजे बुद्धशान्ति वडा नं. ३बुधबारे बजार बस्ने शिवजी गुप्ताकी छोरी १३वर्षीया सन्ध्या गुप्ता साथीको घर जान्छु भनी हिँडेकोमा सम्पर्कमा नआई बेपत्ता भएकी थिइन् । आफन्त तथा छरछिमेकमा समेत खोजतलास गर्दा फेला नपरेपछि प्रहरीमा निवेदन दिइएको थियो ।
खोजतलास गर्ने क्रममा गएराति १०ः३०बजे मेचीनगर –६ मेची डाँडा बस्ने २३ वर्षीय रबिन मगरको घरमा बसिरहेको अवस्थामा ती बालिकालाई फेला पारिएको छ । बालिकालाई उनका बुबाले बुझी लगेका छन् भने मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो बाह्रदशी –५बस्ने प्रकाश राजवंशीकी श्रीमती वर्ष अन्दाजी २७ की गीता राजवंशी घरमा कोही कसैलाई जानकारी नगराई आफूखुसी घरबाट हिँडेर बेपत्ता भएकी छन् । जान सक्ने सम्भावित ठाउँमा खोजतलास गर्दासमेत फेला नपरेपछि उनका भाइ अर्जुन राईले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराएका छन् । उनको खोजतलास भइरहेको छ । गीताका श्रीमान् प्रकाश विदेशमा रहेका छन् ।
कात्तिक १ देखि ८ गतेसम्म झापा प्रहरीले १७ जना हराएको हुलियासहितको परिपत्र मातहतका युनिटहरूलाई जारी गरेको छ । हराउनेमा १२ जना बालिका र किशोरी रहेका छन् ।
त्यस्तै दुई बालक, दुई पुरुष र एक महिला पनि हराएका छन् । हराएकामध्ये तीन बालिका (किशोरीसमेत) र एक पुरुष बाहिर जिल्लाका हुन् । त्यसमध्ये तीन जना भेटिएको प्रहरीले जनाएको छ ।


