२०८२ कार्तिक ६, बुधवार , ०५:१६:१८ बजे

Sajhamanch
'

दूधेमा कात्तिक १५ देखि हुने महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम तयारी

बुधवार, कार्तिक ६, २०८२
  • सरोज भट्टराई

शिवसताक्षी । झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुन लागेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।

आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर अहिले कुर्सी जडानको काम जारी रहेको आयोजक झापा महिला गोल्डकप समितिले जनाएको छ ।

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार खेलमैदानमा फाइनल घाँस काट्ने र मञ्च सजाउने अन्तिम तयारी भइरहेको छ ।

मञ्चमा तीन सयजना बस्नका लागि कुर्सी जडान भइरहेकाले बाँकी प्यारापिटमा करिब तीन हजारभन्दा बढी दर्शक अटाउने व्यवस्था मिलाइएको छ । साथै, खेलमैदानको पूर्व, उत्तर र दक्षिण भागमा अस्थायी प्यारापिट निर्माण कार्य पनि सुरु गरिएको छ ।

गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको आयोजकले विश्वास व्यक्त गरेको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ । हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । जसमा त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमसँगै भारत, भुटान र नेपालका तीन ए–डिभिजन क्लब पनि प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।

नगरप्रमुख तथा प्रतियोगिताका संरक्षक मेगाहाङ थोप्राका अनुसार पक्की प्यारापिट निर्माण, खेलमैदान सुधारका काम लगभग सकिएको छ । अन्य पूर्वाधार निर्माणका कामहरू अन्तिम चरणमा छन् । प्रतियोगिता सञ्चालनमा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

झापामा महिला फुटबलको इतिहास रच्ने यो गोल्डकपले महिला खेलाडीहरूको सपना, आत्मविश्वास र क्षमतालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर