२०८२ कार्तिक ६, बुधवार , ०३:१८:५३ बजे

Sajhamanch
'

वर्तमान सरकार नै असंवैधानिक : एमाले नेता दाहाल

बुधवार, कार्तिक ६, २०८२

झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार असंवैधानिक रहेको बताउनु भएको छ ।

लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो र ? सर्वोच्च अदालतका पूर्वन्यायाधिशको नेतृत्वमा बनेको सरकार संविधानको कुन धारा अनुसार बनेको हो ? यसले संसदको विघटन गर्न पाउँछ कि पाउँदैन ? उहाँले प्रश्न गर्नुभएको छ ।

यसका मन्त्रीहरुको नियत निर्वाचन गराउने नरहेको संकेत पाइएको पनि उहाँले बताउनु भएको छ । यस सरकारका गतिविधिहरुलाई हामीले नजिकबाट नियालेर कार्यकर्ताहरुले निगरानी गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापनमा नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड र राष्ट्रिय जनसांस्कृतिक महासंघ बिर्तामोडको आयोजनामा भएको देउसी भैलो एवम् सांस्कृतिक कार्यक्रममा मन्तब्य राख्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।

भदौ २३ र २४ गते जेन जीका नाममा गराइएको घटना तत्कालीन सरकारलाई माग राख्न नभई आगजनी र लुटपाट र विध्वंस मच्चाउन गरिएको उहाँको भनाई छ । उक्त घटनाले राज्यलाई कमजोर बनाएको छ । नेपालको राजनीतिक इतिहासमा यो घटनाले कलंकको रुपमा चित्रण गरिदिएको यहाँको भनाई छ ।

उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित तिहार विशेष कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित शुभेच्छुक शुभचिन्तकहरुको बाक्लो सहभागिता थियो ।

कार्यक्रमको औचित्य प्रष्ट्याउँदै एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले भदौ २३ २४ को विध्वंश एवम् आगजनी पछि आतंकित जनमानसलाई शान्त पार्न र पार्टीका कार्यकर्ताहरुलाई कार्यक्षेत्रमा फर्काउन सामुहिक देउसी कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले उक्त घटनामा जलाइएका सार्वजनिक र निजी भौतिक सम्पत्ती भ्रष्टाचारीको नभएको पनि प्रष्ट पार्नुभयो ।

सम्बन्धित खबर