२०८२ कार्तिक ६, बुधवार , ०३:१८:४० बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओली बालकोटस्थित ध्वस्त भवन अवलोकनमा

बुधवार, कार्तिक ६, २०८२

मविरुद्ध गृहमन्त्रीको व्यक्तिगत दुश्मनी देखिन्छ, सरकारले थप केही गर्ने योजना बनाएको आशंका छ : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आगजनी गरेर ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो भग्नावशेष घर परिसरमा पुगेर अवलोकन गर्नुभएको छ ।

करिव डेढ महिना पछि बुधबार मध्यान्ह ओलीले बालकोटस्थित आफ्नो स्थायी निवासमा पुगेर जलेको घरको अवलोकन गर्नुभएको हो ।

ओलीले शुरूमा गेटमा उभिएर केहीबेर जलेको भवन हेर्नुभयो । त्यसपछि उहाँ घरको बार्दलीमा पुगेर दायाँबायाँ हेर्नुभयो ।

पत्नी राधिका शाक्यको कमाइमा ओलीले बालकोटमा घर बनाएको बताइन्छ ।

बालकोटको घरमा आगजनी भएपछि ओली अहिले भक्तपुरकै गुण्डुमा अस्थायी बसोबास गरिरहनु भएको छ ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि भदौ २४ मा आक्रोशित भीडले ओलीको घरमा आगजनी गरेको थियो ।

अवलोकन पछि पत्रकारहरु माझ उहाँले वर्तमान सरकारका मन्त्रीहरुको अभिव्यक्ति एवम् रवैयाहरुको आलोचना गर्नुभएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आफूविरुद्ध दुश्मनी साँधेको उहाँले आरोप पनि लगाउनु भएको छ । गृहमन्त्रीका अभिव्यक्तिका कारण सरकारले आफूविरुद्ध थप केही गर्छ भन्ने आशंका बढाएको ओलीको भनाई छ ।

‘गृहमन्त्रीका अभिव्यक्तिमा सरकारको उद्देश्य र मनसाय देखिन्छ, ममाथि व्यक्तिगत दुश्मनी देखिन्छ, मैले उहाँहरूको सीमा मिचेको छैन, घर कहाँ हो थाहा पनि छैन, केही गरेको छैन, तर दुश्मनी चर्को देखिन्छ,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले थप केही गर्ने योजना बनाइरहेको आशंका छ ।’

गृहमन्त्री अर्यालले ओली कानूनभन्दा माथि नरहेको भनाई राखेको भिडियो बाहिरिएको थियो । भदौ २३–२४ को घटनामा बयान दिन नजाने भन्ने ओलीको अभिव्यक्तिलाई लिएर गृहमन्त्री अर्यालले कानूनभन्दा माथि कोही नरहेको बताउनु भएको थियो ।

गृहमन्त्रीका अभिव्यक्तिले सरकार आफूलाई पक्रने योजनामा रहेको ओलीको आशंका छ । ‘जेनजी भनिएकाहरूलाई बोलाएर तिमीहरू हामीलाई दबाब देऊ भनेर सरकारका मान्छेले भनिरहेका छन् । दबाबमा पर्‍यौं, फलनालाई गिरफ्तार गरेर कारबाही अगाडि बढाउँछौं भनेर सिकाएर पठाउनु भएको थाहा छ,’ ओलीले सञ्चारकर्मीहरुलाई सुनाउनु भयो ।

ओलीले सरकारका गलत गतिविधिको विरोधका लागि एमाले ज्युँदो पार्टी रहेको बताउँदै भन्नुभयो ‘अचानक पलाएको सरकारका धाक धम्कीसँग एमाले डराउँदैन ।’

सम्बन्धित खबर