२०८२ कार्तिक २, शनिवार , ०८:२८:३८ बजे

Sajhamanch
'

नेकपा एमाले बिर्तामोडको सक्रियता, असंवैधानिक सरकार विरूद्ध निरन्तर प्रदर्शन

शनिवार, कार्तिक २, २०८२

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजनमा आज यहाँ वृहत मोटरसाइकल र्याली गरिएको छ ।

गत भदौ २३–२४ को नियोजित घटनामा प्रमुख निशाना बनाइएको नेकपा एमाले र यसका नेता कार्यकर्ताहरुले बिर्तामोडमा आफ्ना गतिविधिलाई तीब्रता दिएका हुन् ।

झापामा पार्टी गतिविधि सञ्चालनका दृष्टिले बिर्तामोडको एमाले सबैभन्दा अगाडि देखिएको छ । विर्तामोडमा एमालेले अन्तरिम सरकार विरुद्ध चार दिनमै दुई पटक ठूला प्रदर्शन गरेको जनाइएको छ ।

आज बिर्तामोडमा पार्टीले मोटर साइकल र्याली सम्पन्न गरेको छ । तीन दिनअघि पनि एमाले नगर कमिटीको आयोजनामा गरामनी क्षेत्रमा प्रदर्शन र कोणसभा भएको थियो ।

सहभागिताको दृष्टिले आजको मोटर साइकल र्याली प्रभावकारी रहेको थियो । सिटी सेन्टरबाट सुरु र्याली गरामनी र चारपाने हुँदै बिर्ताबजार पुगेर कोणसभामा परिणत भएको थियो ।

सो कोण सभामा युवा संघका कार्यकर्ता आशा गुरुङ, राष्ट्रिय युवा संघका झापाका इन्चार्ज एवम् कार्यक्रम संयोजक खगेन्द्रराज आङ्देम्बे र संघका बिर्तामोड अध्यक्ष प्रविन सादेम्बाले सम्बोधन गर्नुभएको थियो ।

र्याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण शिवाकोटी लगायतले मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित सरकार असंवैधानिक भएकाले खारेज हुनुपर्ने र विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नु भएको थियो ।

नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले कोणसभामा बोल्दै मुलुकमा अराजकता फैल्याउने, आगजनी र तोडफोड गर्नेहरुलाई कानूनी कार्वाही हुनुपर्ने माग गर्नुभयो ।

सम्बन्धित खबर