
गौरादह । माछा मार्ने क्रममा यहाँका तीन बालिकाको आज डुबेर मृत्यु भएको छ ।
गौरादह नगरपालिका–९ खजुरबारी बस्ने अन्जु मगरकी छोरीहरू ९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुस्मा मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोशनी परियारको मृत्यु भएको हो । एकै गाउँका तीन बालिकाको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती बालिकाहरू कृष्णे खोलामा जमेको पानीमा माछा मार्न गएका थिए । बालिकाहरू डुबेको स्थानीय युनिसा राईले देखेर तत्काल उनीहरूको अभिभावकलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी पाउन साथ अस्थायी प्रहरी चौकी बैगुनधुरा र इलाका प्रहरी कार्यालय झिलझिलेको टोली घटनास्थल पुगेका थिए ।
शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि पठाइएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् ।