
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५८ अङ्कले घटेर २ हजार ५०५ दशमलव ५८ विन्दुमा झरेको छ । हिजो नेप्से १९ अङ्कले घटेको थियो ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २०६ वटा कम्पनीका शेयर घटेकोमा ४० वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त कम्पनीको शेयर भने झन्डै ७ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३१८ वटा कम्पनीका ७६ लाख ११ हजार कित्ता शेयर ३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ ।