
झापा । पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने व्रmम सुरु भएको छ ।
हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जङ्गल र सिम क्षेत्रमा देखिन थालेका छन् । असोज लागेसँगै पहिलो सातादेखि आगन्तुक चरा आउने व्रmम सुरु भएको हो ।
चराविज्ञ अनिश तिम्सिनाका अनुसार क¥याङकुरुङ, जलेवा, खोयाहाँस, सिन्दुरे हाँसलगायतका पाहुना चरा पूर्वी नेपालदेखि पश्चिम नेपालको तराई क्षेत्रका नदी र तालमा आउने व्रmम सुरु भएको छ । उहाँ भन्नुहुन्छ, “नौ हजार मिटर उचाइसम्मको उडान भर्न सक्ने खोयाहाँस जाडो छल्न तराईको सिम क्षेत्र र फाँटमा विचरण गर्न आउन थालेका छन् ।” त्यस्तै सिन्दुरे हाँस, अलकचन्द्र राजपुत्रिका, वनसु सुडिया, कैलो टाउके हाँस, बैकाल गैरी र ठुलो जलरङ चराको बसाइँसराइ सुरु भएको उहाँको भनाइ छ । त्यस्तै कलहाँस, सिउरे डुबुल्की चरा, श्वेत माछा कलहाँस, सिमकुखुरा, ध्वाँसे सिमकुखुरा, हलिमुखे, जुरे हुटिट्याउँ र कालीजुरे हाँस देखिन थालेका छन् ।
पाहुना चरा जाडोमा तराई आउने र गर्मीमा आफ्नै स्थायी वासस्थानतिर फर्कने गरेको चराविद् अनिश तिम्सिना बताउनुहुन्छ । उहाँका अनुसार पूर्वी नेपालको दुई हजारदेखि तीन हजार उचाइको पहाडको आसपास क्षेत्रमा रहेका चरा जाडो छल्न तराई क्षेत्रमा झर्ने गर्छन् ।
हिमाली र पहाडी जिल्लाबाट आएका फिस्टा, चुइयाँ, भद्राई र अर्जुनक प्रजातिका चरा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र र आसपासका क्षेत्रमा चरा देखिन थालेका छन् ।
यतिबेला कोशीटप्पु आरक्ष क्षेत्र, तराईका नदी, खोला र तालमा साइबेरिया, वर्मा, चीन, मङ्गोलिया, रुस, कोरिया, थाइल्यान्डलगायतका देशबाट आगन्तुक चरा आउने गरेको नेचर गाइड विमल तिम्सिनाको भनाइ छ ।