
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको जावालखेलमा चलिरहेको छ । आजदेखि शुरू भएको बैठक पर्सि शुक्रवारसम्म चल्नेछ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आधारित छलफल हुनेछ । बैठकले महाधिवेशनको मिति र ठाउँ पनि तोक्नेछ । अध्यक्ष ओलीले प्रतिवेदनमा महाधिवेशनसहित जेन–जी आन्दोलन, प्रतिनिधिसभा विघटन र फागुन २१ गते घोषणा भएको चुनावबारेमा पार्टीको प्रस्ताव समेट्नुभएको छ ।
जेन–जी आन्दोलनपछि एमालेमा नेतृत्व हस्तान्तरण गर्न दबाव बढे पनि अध्यक्ष ओलीले अहिले नै पार्टी नेतृत्व नछाड्ने बताउनुभएको छ । पार्टीभित्र नेतृत्वबाट राजीनामाको माग पनि उठेकोतर्फ लक्षित गर्दै उहाँले पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले एकमत आवश्यक रहेको बताउनुभयो ।
असहज परिस्थिति भित्रबाटै सामना गर्दा त्यसको फाइदा विरोधीहरूले लिने भन्दै ओलीले यस्तो स्थिति बन्न नहुने बताउनुभयो । यस्तै कतिपय साथीहरूले तपाईंलाई बोकेर जानै सकिँदैन भनेको भन्दै अध्यक्ष ओलीले आफूलाई बोक्न नपर्ने र आफैँ हिड्ने टिप्पणी गर्नुभयो ।
केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको तर सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘पार्टीभित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु – अध्यक्षले छोड्नुपर्छ । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन्, यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्नुपर्छ भनेको बेला एकदम खुशीसाथ हट्छु । कतिपय साथीहरूले मलाई भन्नुहुन्छ – तपाईंलाई त बोकेर जानै सकिँदैन । किन बोक्नु पर्यो ? म आफैँ हिँड्छु । हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्ने छैन । कसैलाई मन परेन होला । नबोक्नुस् ।’