
काठमाडौं । आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दो छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नयाँ दल दर्ताको लागि प्रक्रिया बुझ्न आउनेको संख्या धेरै छ, तर अहिलेसम्म तीन वटा मात्रै फाइल प्राप्त भएका छन् ।
नयाँ दल दर्ता गर्न निवेदन दिएकाहरुको कागजात बुझ्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता भट्टराईका अनुसार सबै प्रक्रिया पुगेपछि दल दर्ताको प्रमाणपत्र दिइनेछ ।
मौजुदा कानूनअनुसार नयाँ दल दर्ताको काम सबै महिना खुला रहन्छ । तर फागुन २१ गते हुने चुनावमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । चुनावमा भाग लिने राजनीतिक दलले मङ्सिर १ देखि १० गतेको बीचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्ने आयोगले व्यवस्था गरेको छ ।
कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति प्राप्त गरेका दलले चुनावमा भाग लिन पाउने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । दल दर्ताको लागि आयोगले यसअघि नै सार्वजानिक आह्वान गरिसकेको छ । उहाँका अनुसार १२२ दलहरू पहिले नै दर्ता भइसकेका छन् । कागजात पूरा भए दल दर्ता प्रमाणपत्र ४५ दिनभित्र प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ ।
नयाँ दल दर्ताका लागि कम्तीमा ५०० जना हस्ताक्षरकर्ता, नागरिकताको प्रमाण र अरु कानूनी कागजात आवश्यक पर्छ । यसैबीच आयोगले राजनीतिक दलहरूसँग छलफलको लागि तयारी अगाडी बढाएको छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार पहिलो चरणमा भोलि बिहीवार २९ वटा दललाई छलफलका लागि बोलाइएको छ ।
संघ, प्रदेश र पालिकामा प्रतिनिधित्व भएका दललाई पहिलो चरणमा छलफलका लागि बोलाएको र त्यसपछि अन्य दलहरुसँग पनि छलफल गर्दै जाने उहाँले बताउनुभयो ।