२०८२ असोज २९, बुधवार , ०८:४६:३६ बजे

Sajhamanch
'

सदस्य र समुदायमा विपद् पर्दा सिम्रिक साकोसको दह्रिलो साथ

बुधवार, असोज २९, २०८२

झापा । कोसी प्रदेशका चारवटा जिल्लालाई कार्यक्षेत्र बनाएको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत असोजको तेस्रो साता बाढी पहिरोमा परेका आफ्ना सदस्य, तिनको परिवार एवम् समुदायका लागि आर्थिक क्षमताले भ्याएसम्मको सक्दो सहयोग गरिरहेको जनाइएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै ६२ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य राहत सामग्री जिल्ला प्रसाशन कार्यालय झापाको आह्वान अनुसार एकद्वार प्रणाली मार्फत हस्तान्तरण गरेर सहयोगको सुरुवात गरेको हो ।

यस्तै, गौरीगन्ज गाउँपालिकाका बाढी पिडित आफ्ना सदस्यहरुलाई संस्थाले छुट्टै राहत प्रदान गरेको छ । गौरीगन्ज सेवाकेन्द्र अन्तरगतका ११ परिवारलाई राहत उपलब्ध गराएको हो ।

सदस्यको सुख दुःखमा सिम्रिक सदैव साथमा भन्ने आफ्नो मन्त्रलाई आत्मसाथ गर्दै गौरीगन्ज २ स्थित भाकुरमारीका ११ परिवारलाई खाद्यान्नसहितका सामग्रीहरु घर घरमै पुगेर हस्तान्तरण गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी संस्थाको कार्यक्षेत्र इलाम जिल्लाको माई नगरपालिकाका १६ जना शेयर सदस्यहरुले पहिरोबाट पिडित भई गाँस–बाँस समेत गुमाउनु भएकाले माई नगरपालिका वडा नं. २ का वडाध्यक्ष उर्दबहादुर राईको उपस्थितिमा चामल, दाल, नून, तेल लगायतका आधारभूत राहत सामग्री हस्तान्तरण गरिएको संस्थाका आइटी सहायक विजय पाण्डेले जानकारी दिनुभएको छ।

असोज १८–१९ को बाढी पहिरोले संस्थाका सदस्यहको घरमात्र बगाएन, सेयर सदस्यको पनि ज्यान गएको छ । यस्तो दुःखद क्षणमा सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाको नीतिअनुसार ऋण मिनाह पनि गरेको छ ।

असोज १९ गते आएको भिषण वर्षाका कारण उत्पन्न दैवी प्रकोपमा परेर असामयिक निधन भएकी सिम्रिक साकोसका ऋणि सदस्य अनु तामाङले संस्थालाई तिर्न बाँकी रहेको ऋण रकम २ लाख ७८ हजार ९८३ रुपैयाँ संस्थाले पूर्णरूपमा मिनाह गरेको पत्र परिवारलाई हस्तान्तरण गरेको छ।

संस्थाले दिवंगत आफ्ना सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै समवेदना पत्रसहित ऋण मिनाहको पत्र परिवारलाई हस्तान्तरण गरेको हो । सो पत्र हस्तान्तरण गर्दै संस्थाका जनसम्पर्क अधिकृत विजय बस्नेतले विपत् र संकटका समयमा सदस्य परिवारको साथमा उभिनु सहकारीको मुख्य दायित्व भएको बताउनु भयो ।

सिम्रिक साकोसले दैवी प्रकोपमा पर्ने शेयर सदस्यहरुको विवरण संकलन भइरहेको हुँदा संस्था निरन्तर साथमा रहेको प्रतिबद्धतासमेत जनाएको छ ।

सम्बन्धित खबर