
झापा । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट परीक्षाफल प्राप्त गर्ने झापाका १८ वटा विद्यालय सम्मानित भएका छन् ।
झापाका ४ सामुदायिक तथा १४ संस्थागत गरी १८ विद्यालयका ३३ जना विद्यार्थीहरुले उत्कृष्ट ४ जीपीए हासिल गरेका थिए । ती विद्यार्थीसमेत विद्यालयलाई शिक्षा विकास तथा समन्वय इकाई झापाले सम्मानित गरेको हो ।
उत्कृष्ठ जीपीए ल्याउने विद्यालयलाई थप प्रोत्साहित गर्न र विद्यार्थीहरुमा समेत प्रेरणा जगाउँदै विद्यालयले खेलेको भूमिकालाई कदर गर्दै शिक्षा विकास तथा समन्वय इकाई झापाले कदर पत्र, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल तथा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले सम्मानित विद्यालयलाई कदरपत्र प्रदान गर्नुभएको हो ।
झापाका १५ पालिकामध्ये ७ पालिकाका १८ विद्यालयका विद्यार्थीले उच्चतम ४ जीपीए नतिजा हासिल गरेका थिए ।
झापाको बिर्तामोड नगरपालिकाका ११ जना, गौरादहका ८ जना, दमकका ६ जना, भद्रपुरका ३ जना, मेचीनगरका २ जना, गौरीगञ्जका २ जना र अर्जुनधारा नगरपालिकाका १ गरी ३३ जनाले ४ जीपीए प्राप्त गरेको समन्वय इकाई झापाले जनाएको छ ।
झापाबाट एसइई परीक्षा २०८१ मा कूल ३९२ विद्यालयका १५ हजार १५७ जना अर्थात ६५ दशमलव ७४ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदै कक्षा ११ पढ्न योग्य देखिएका थिए ।
सो अवसरमा सम्मानित हुने विद्यालयहरुको तर्फबाट माउन्ट एभरेष्ट अंग्रेजी माविका संस्थापक नारायण घिमिरे, हिमालय मावि दमकका प्रधानाध्यापक द्रोण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै यस किसिमका प्रेरणा जगाउँने कार्यक्रमले निरन्तरता पाउनु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मेचीनगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, प्रमुख अतिथि शिक्षा समिति झापाका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख बरालले उत्कृष्ट नतिजा हासिल हुनमा शिक्षकको प्रमुख भूमिका रहने बताउँदै विद्यालय र अभिभावकको समन्वय भएमा शैक्षिक स्तर उठाउन सकिने बताउनु भयो ।
इकाई प्रमुख कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यालयका प्राविधिक सहायक कृष्टिना न्यौपाने र संचालन कार्यालयका शाखा अधिकृत एवम् सूचना अधिकारी किरण अधिकारीले गर्नुभएको थियो ।