
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ।
ललितपुरमा सोमबार आयोजित विपद् जोखिम न्युनीकरण चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको हो।
भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उहाँले बताउनु भयो। विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक रहेको गृहमन्त्रीको भनाइ छ।
अर्यालले विपद् जोखिम न्युनीकरणका लागि पूर्व सूचकयन्त्र विस्तार गरिएको, समुदायमा आधारित जोखिम न्युनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिवृद्धि कार्यक्रम चलाइएको जिकिर गर्नुभयो।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले समुदायलाई बलियो बनाउन सके विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनमा सहज हुने भएकाले क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताउनु भयो। धेरै स्थानमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुुरु भइसकेको जानकारी दिँदै उहाँले यसलाई देश व्यापी बनाइएको जानकारी दिनुभयो।
विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि संघ सरकारले प्रदेशलाई गोदामघर हस्तान्तरण गरेकाले केही सहज भएको उल्लेख गर्दै उहाँले अब स्थानीय तहमा पनि गोदामघरको व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनु भयो।