
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको साविक विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान् ब्याटर शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ५१ वर्षीय चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको जनकपुरले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।
एनपीएलको पहिलो संस्करणमा जनकपुरले पबुदु दासानायकेलाई प्रशिक्षक नियुक्त गरेको थियो । अहिले अमेरिकाका मुख्य प्रशिक्षक रहेका पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक हुन् ।
शिवनारायण चन्द्रपलसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका तलहवाज र अमेरिकाको महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हालेको अनुभव छ ।
चन्द्रपलले वेस्ट इन्डिजका लागि १६४ टेस्टमा ३० शतक र ६६ अर्धशतकसहित ११ हजार ८७६ रन, २६८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ११ शतक र ५९ अर्धशतकसहित ८ हजार ७७८ रन र २२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३४३ रन बनाएका छन् ।
एनपीएलको दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि शुरू हुनेछ । पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्स विजेता बनेको थियो ।