
काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध समर्थकहरूले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् ।
नेपाली फुटबल समर्थकहरूले एन्फा फुटबल एशोसिएशन कि कन्सलटेन्सी; विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?; घरेलु लिग चलाऊ, फुटबल बचाऊ; वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबलस फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । भर्खरै धुलिखेलमा सम्पन्न साधारणसभामा अध्यक्ष पङ्कजविक्रम नेम्वाङमाथि क्लबहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् ।
यो वर्ष फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर यो रकमको विस्तृत हिसाब सार्वजनिक नहुँदा केही क्लबहरूले असन्तुष्टि जनाएका छन् ।
यसबाहेक खेलाडीहरूको तलब र सुविधाको विषयमा पनि विवाद छ । गएको सिजनमा केही क्लबले खेलाडीहरूलाई समयमै तलब नदिएको गुनासो आएको थियो । यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा असर परिरहेको फुटबल विश्लेषकहरूको भनाइ छ ।