
काठमाडौं । घरेलु टोली भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिज फलोअनमा परेको छ ।
दिल्लीमा चलिरहेको टेस्टको पहिलो पारीमा वेस्ट इन्डिज २४८ रनमा अलआउट भएपछि फलोअनमा परेको हो । वेस्ट इन्डिज पहिलो पारीमा २७० रनले पछाडि परेको छ । अहिले वेस्ट इन्डिजले दोस्रो पारीको ब्याटिङ शुरू गरेको छ ।
पहिलो पारीमा वेस्ट इन्डिजका एलिक एथानाजेले सबैभन्दा धेरै ४१, शाई होपले ३६, टगेननारायण चन्द्रपाउलले ३४ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ५, रविन्द्र जडेजाले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा ५ विकेट गुमाएर ५१८ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । भारतका यशस्वी जायसवाल र कप्तान शुभमन गिलले शतक तथा साई सुदर्शनले अर्धशतक बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जोमेल वारिकनले ३ विकेट लिए ।
पहिलो टेस्ट भारतले एक इनिङ्स र १४० रनले जितेको थियो । २ खेलको शृङ्खलाका लागि वेस्ट इन्डिज भारत गएको हो ।
टेस्ट क्रिकेटमा पहिले ब्याटिङ गर्ने टोलीले कम्तीमा २०० रनको अग्रता लिएको अवस्थामा दोस्रो ब्याटिङ गर्ने टोलीलाई फलोअन अर्थात् फेरि ब्याटिङ गर्न भन्न सक्छ ।