
काठमाडौं । तिहार नजिकिएसँगै किसान मखमलीको फूल टिपेर माला बनाउन व्यस्त भएका छन् । तिहारमा मखमली, सयपत्री, गोदावरीलगायत फूलको माला धेरै प्रयोग हुन्छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका किसानलाई यतिबेला मखमलीको फूल टिपेर माला बनाउने चटारो छ । तर किसानले उचित मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन् । गुण्डुका किसान शहदेव बस्नेतले पछिल्ला वर्ष परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गर्नुभयो ।
उहाँकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर अहिले माला प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा बेच्नुपर्ने बाध्यता छ । किसान गङ्गा थापाको गुनासो पनि उस्तै छ । उहाँले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताउनुभयो ।
किसानले मालाको मूल्य निधारण गर्न सरकारसँग माग गरेका छन् । सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने उनीहरुको भनाइ छ ।
फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने पनि बताएका छन् । विचौलियाका कारण आफूहरुले उचित मूल्य नपाउने र उपभोक्ता पनि मंहगो तिर्न बाध्य हुनुपर्ने समस्या रहेको किसानको भनाइ छ ।