
बिर्तामोड । निवृत्त शिक्षक खिलप्रसाद सिवाकोटीले लगातार ५ दिनसम्म श्रमदान गरी बिर्तामोड ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविको मूल गेटमा थुप्रिएको फोहोर सरसफाई गरी बस्नयोग्य बनाउनु भएको छ ।
केही महिना अघि विद्यालयले नयाँ प्रवेशद्वारसहित पर्खालको उचाई थप गर्दा ल्याइएका निर्माण सामग्रीहरु यत्रतत्र छरिएका थिए । मूलगेटमा नै रुख बुट्यानले भरिएको शितल उक्त हाता विद्यार्थी एवम् बटुवाहरुका लागि उपयोगयोग्य थिएन । तर समाजसेवी सिवाकोटीले बिहान साढे ४ बजेदेखि ९ बजेसम्म श्रमदान गरेर पाँचौं दिन आज सुन्दर ठाउँ विद्यालय परिवारलाई जिम्मा लगाउनु भएको हो ।
विद्यालयको पूर्वी मोहडामा रहेको करिब १०० मिटर पर्खालमा रंग रोगन गरी सुन्दर बनाइएको छ । पेवर्स ओछ्याइएको भुईं बढारेर सफा गर्दै जताततै लडेका गमलाहरु मिलाएर सजाइएको छ । सिवाकोटीको अभियानमा स्थानीय ब्यवसायीहरु वीरबहादुर बुढाथोकी र नेत्रप्रसाद न्यौपानेले ढुक्कै श्रमदान गरी साथ दिनुभएको उहाँले बताउनु भयो । आज बिहीबार बिहान अर्का व्यवसायी कृष्णप्रसाद प्रसाईले पनि श्रमदान गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
साझामञ्चसँगको कुराकानीमा अभियन्ता सिवाकोटीले भन्नुभयो, ‘आफूले ५० वर्षअघि अध्ययन गरेको विद्यालयको मूलद्वारमा नै यस्तो दुरावस्था देखेपछि नरमाइलो लाग्यो अनि बिहान बिहान सरसफाई गर्न थालें । केही स्थानीयहरुले अभियानमा साथ दिनुभयो । अब त पर्खालमा रंगरोगन पनि गरिएको छ, बस्ने मेचहरु र गमला पनि सजाइएको छ । मैले यो विद्यालयमा अध्ययन गरेको स्वर्ण वर्षगाँठ यसरी नै मनाएँ । सुन्दर बनाउन सहयोग गर्ने सबैमा आभार प्रकट गर्दछु ।’
‘छैठपर्व पछिमात्र खुल्ने गरी चाडपर्वका लागि हाल विद्यालय बन्द छ । तर विद्यालय हातामा नै यस्तो काम हुँदा न त व्यवस्थापन समिति देखियो न त विद्यालय प्रशासन नै’ सिवाकोटीको श्रमदानलाई नजिकबाट नियालेका एकजना प्रत्यक्षदर्शीले गुनासो गरे ।
भिडियो लिंक पनि ….
https://www.facebook.com/share/v/17VTi2PKae/