२०८२ असोज २३, बिहिवार , ०३:५७:३८ बजे

Sajhamanch
'

इलाममा बाढीले १०८ घरमा क्षति, राहत वितरण गरिँदै

बिहिवार, असोज २३, २०८२

इलाम । असोज १८ गते रातीको वर्षापछि पहिरोबाट इलाममा १०८ घरमा पूर्ण क्षति भएको प्रारम्भिक जानकारी आएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलाम नगरपालिकामा ४६, फाकफोकथुम गाउँपालिकामा १६, माई नगरपालिकामा १३, सन्दकपुर गाउँपालिकामा १२, माङ्सेबुङ गाउँपालिकामा ११, सूर्योदय नगरपालिकामा ५, देउमाई नगरपालिकामा ३ र माइजोगमाई गाउँपालिकामा दुई घरमा पूर्ण क्षति भएको छ ।

पहिरोका कारण जिल्लामा ३९ व्यक्तिले ज्यान गुमाएका थिए । यस्तै पहिरोका कारण २६ जना घाइते भएका छन् भने एक जना अझै वेपत्ता रहेको कार्यालयले जनाएको छ । पहिरोमा परि पूर्ण रुपमा घर क्षति भएका परिवारलाई भने छिमेकी, आफन्त र सामुदायिक भवनहरुमा राखिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

प्रशासनले पीडित परिवारलाई राहत प्रदान गर्ने संघ–संस्था र व्यक्तिहरुलाई एकद्धार प्रणालीबाट राहत दिन आग्रह पनि गरेको छ । पीडित परिवारलाई राहत दिनुपरे सम्बन्धित पालिकाहरुसँगको समन्वयमा राहत दिन आग्रह गरिएको प्रजिअ नेपालले बताउनुभयो । अहिले बाढी पहिरोबाट पीडित बनेका परिवारलाई सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरुले पीडितको घर–घरमै पुुगेर राहत प्रदान गर्न थालेका छन् ।

पीडित परिवारका लागि दाल, चामल, नुुन, ओड्ने, ओछ्याउने कपडा, त्रिपाल, फम लगायतका सामग्रीहरु प्रदान गरिरहेको बताइएको छ । जिल्ला स्थित रेडहर्ष, फुटबल क्लब, निर्माण व्यवसायी संघलगायतका संघसंस्था, कोशी प्रदेशबाट आएको राहत सामग्री र स्थानीय पालिका र नेपाली सेनाले वितरण गरिरहेका छन् । अहिले पीडित परिवारलाई व्यक्तिगत रुपमा समेत रकम उपलब्ध हुन थालेको बताइएको छ ।

यसपटकको बाढी पहिरोका कारण पशुुचौपायाको क्षतिको पनि प्रारम्भिक विवरण संकलन गरिएको जिल्ला स्थित भेटनरी अस्पताल तथा पशुु विज्ञ केन्द्र इलामले जनाएको छ ।

यसपटकको विपद्मा परि ९१ वटा गाई, दुुईवटा बाच्छी, १६९ वटा बाख्रा, ९५ वटा बंगुर, एउटा घोडा, ५०७ वटा कुखुरा, चारवटा राँगा, दुईवटा पाडी र १६० किलो कुखुरामा क्षति पुुगेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३६ वटा गाई र २० वटा बाख्रा पहिरोमा परि घाइते भएका छन् ।

यसैबीच पूर्ण रुपमा घर क्षति भएका नीजि घर परिवारका लागि अस्थायी घर बनाउन पीतिड परिवारलाई प्रशासनले आवश्यक कागजात बुझाउन सूचना समेत गरेको छ ।