२०८२ असोज २३, बिहिवार , ०२:२२:३४ बजे

Sajhamanch
'

शिवसताक्षीमा बाढी र डुवानमा २२० घरमा क्षति, १ करोड २० लाख बढीको नोक्सानी, सर्वपक्षीय राहत वितरण सुरु

बिहिवार, असोज २३, २०८२

शिवसताक्षी । अविरल वर्षासँगै आएको कनकाई माईको बाढीले झापाको शिवसताक्षी नगरपालिकामा २२० घरमा क्षति पुर्याएको छ । गएको असोज १८ गते राति कनकाई माइमा आएको बाढीले नगरका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका हुन् ।

नगरपालिकाको विपत व्यवस्थापन शाखाका कार्यक्रम अधिकृत महेश लामिछानेले वडा नं. ४ विश्वडुब्बामा ४ घर, वडा न. ५ भेलामुनीमा ४५ घर, वडा न. ६ शिवगञ्जमा ३१ घर र वडा नं. ७ लालपानीमा १४३ घर डुबानमा परेको बताउनु भयो ।

नगरपालिका क्षेत्रभित्र डुबान, कटानबाट अनुमानित १ करोड २० लाख रुपैयाँ माथिको क्षति भएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो ।

वडा नं. १० दोमुखामा मात्रै करिब ३१ लाख रुपैयाँभन्दा बढीको क्षति भएको नगरप्रमुख थोप्राले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोमुखाको पिकनिक स्पोटमा नगरले निर्माण गरेको रेलिङ्ग पूर्णरूपमा बगाएको छ भने कनकाई माईले चिल्ड्रेन पार्क, नवनिर्मित मौलिक घर, स्वीमिङ्ग पूलको क्षेत्र लेदोले पुरिएको छ । त्यस क्षेत्रमा नदीले कटानसमेत गरेको छ ।

त्यस्तै कनकाई मुक्तिघाटमा अनुमानित १५ लाख ६४ हजारको क्षति भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अझै केही स्थानबाट क्षति विवरण आउन बाँकी छ ।

वडा न. ५ भेलामुनीमा नदी कटान बढ्दो भएकाले तत्काल ढुंगाजाली जडान गरी रोकथाम कार्य गर्नुपर्ने अवस्था रहेको विपत व्यवस्थापन शाखाले जनाएको छ ।

धरमपुर खानेपानी आयोजनामा पनि ७ लाख ६८ हजार रुपैयाँको क्षति भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख थोप्राले भन्नुभयो, “अहिले जनप्रतिनिधि र कर्मचारीहरू क्षति विवरण संकलन र राहत वितरणमा जुटेका छौं । प्रभावित नागरिकका लागि गाँस, बासको व्यवस्था छिटो गर्न प्रयास भइरहेको छ ।”

नगर उपप्रमुख नरमाया कार्कीका अनुसार डुबान क्षेत्रका बालबालिकामा चिसोका कारण स्वास्थ्य समस्या देखिन थालेकाले पालिकाले स्वास्थ्य टोली परिचालन गरी स्वास्थ्य परीक्षण र औषधि वितरण कार्य सुरु गरेको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले वडा न.७ लालपानीका १०२ बाढीपीडित परिवारलाई २ लाख ४ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको छ ।

राहत अन्तर्गत प्रत्येक परिवारलाई २० केजी चामल, २ केजी दाल, २ लिटर खानेतेल र चाउचाउ वितरण गरिएको शाखा सभापति गोविन्द काफ्लेले जानकारी दिनुभयो । त्यस्तै रेडक्रसले शिवसताक्षी ६ शिवगञ्जका १६ परिवारलाई समेत राहत वितरण गरेको जनाइएको छ ।

राहतका लागि शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष तथा काफ्ले खाद्य भण्डारका सञ्चालक यामनाथ काफ्लेले ५० हजार, ध्रुवतारा आवासीय विद्यालयले ६ हजार, काफ्ले समाज शिवसताक्षी नगर कार्यसमितिले ४ हजार रुपैयाँ लगायत अन्य व्यक्तिहरुले आर्थिक सहयोग गरेर उक्त राहत जुटाइएको हो ।

त्यस्तै, शिवसताक्षी नगरपालिकाले लालपानीका बाढी पीडितका लागि १७० थान म्याट, झुल र महिलाका लागि साडी सेट, वितरण गरेको छ भने वडा नं. ४, ५ र ६ का पूर्णरूपमा डुबानमा परेका १०० परिवारलाई म्याट, तन्ना र झुल वितरण गरेको जनाएको छ ।

सम्बन्धित खबर