२०८२ असोज २३, बिहिवार , १२:१५:५३ बजे

Sajhamanch
'

बाढी पहिरोबाट पाँचथरमा ५७ करोडभन्दा बढीका भौतिक पूर्वाधार क्षति

बिहिवार, असोज २३, २०८२

फिदिम । यही असोज १७ र १८ गते परेको अविरल झरी पश्चात आएको बाढी पहरोले पाँचथरमा मात्रै ५७ करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । पूर्वाधार विकास कार्यालय पाँचथरले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कमा सो क्षतिबारे उल्लेख छ ।

कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहका अनुसार जिल्लामा १८ वटा झोलुङ्गे पुल बगेका छन् । जसबाट १५ करोड ५० लाख रुपियाँ बराबरको नोक्सानी भएको छ ।

यस्तै, ६ वटा सडक पुल र कल्भर्टमा बग्दा १० करोड र विभिन्न ७ वटा सडकमा पहिरो जाँदा ३२ करोड रुपियाँ बराबरको क्षति पुगेको सिंहले बताउनुभयो ।

वर्षातका कारण अवरुद्ध केहि सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएका छन् । सबैभन्दा धेरै क्षति भएको फिदिम–फालोट सडक खण्डमा पर्ने फेमे खोलामा स्कावेटर परिचालन गरेर खुलाउने प्रयत्न थालिएको छ ।

शिवालय–रानीटार–लुङरुप्पा–गोरुवाले सडक पनि नाम्दु खोलासम्म आंशिक रूपमा सञ्चालनमा आएको ल्याइएको कार्यालयले जनाएको छ । नाम्दु खोलामा पूर्वाधार विकास कार्यालयको सहयोगमा स्थानीयले श्रमदान गरेर बाँसको फड्के निर्माण गरिँदैछ ।

यस्तै, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक, सरखण्डे–यासोक सडक, मौवा–लखुवादोभान सडक र बरडाँडा–साबलाखु सडकहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर