२०८२ असोज २१, मङ्गलवार , ०१:०६:१० बजे

Sajhamanch
'

पर्यटकको आकर्षण केन्द्र साल्पा-सिलिचुङ क्षेत्र

मङ्गलवार, असोज २१, २०८२

भोजपुर । यहाँको सबैभन्दा अग्लो साल्पा-सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् ।

समुद्री सतहबाट चार हजार १५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथासहित अन्य हिमाल नियाल्न सकिन्छ । हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्दो छ । चुचुरो चढे पश्चात देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको छ ।

चुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्व राख्छ । भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन्।

वर्षमा चारपटक-वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा-यहाँ मेला लाग्ने गर्दछ । ती अवसरमा भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बु लगायतका जिल्लाबाट भक्तजनको ठूलो भीड लाग्ने गरेको स्थानीयको भनाइ छ ।

यस स्थानलाई धामीझाँक्रीहरूले शक्तिको गुरुको रूपमा मान्ने परम्परा रहेको छ भने सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, बोली नआउनेलाई बोली आउने विश्वासले मानिसहरु यहाँसम्म पुग्ने गरेका छन् ।

कचौरा आकारमा फैलिएको साल्पा पोखरी समय(समयमा रङ परिवर्तन गर्ने विश्वासले प्रख्यात छ । किरात राई समुदायले यसलाई आफ्ना पुख्र्यौली भगवान्का रूपमा पूजा गर्ने गरेका छन् ।

स्थानीय जानकार चन्द्र खत्रीका अनुसार साल्पा-सिलिचुङ क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके ताप्लेजुङको पाथीभरा जस्तै लोकप्रिय धार्मिक-पर्यटन गन्तव्य बन्न सक्छ। चिताएको पूरा हुने विश्वासले मानिसहरू चार-पाँच दिनसम्म पैदल यात्रा गरेर यहाँ पुग्ने गरेका छन् । प्रख्यात पर्वतारोही तेन्जिङ हिलारीले सगरमाथा आरोहणका क्रममा यही पदमार्ग प्रयोग गरेको तथ्यले यस क्षेत्रलाई ऐतिहासिक महत्व दिएको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण साल्पा पोखरी र सिलिचुङ चुचुरो अहिले पर्यटकको रोजाइको प्रमुख गन्तव्य बनेको छ । यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण धार्मिक-पर्यटन केन्द्रका रूपमा स्थापित हुने स्थानीयको भनाइ छ ।

मङ्गलवार, असोज २१, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर