
काठमाडौं । कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला शुरू भएको छ । काठमाडौंको दक्षिणी भेग चोभारडाँडामा रहेको आदिनाथ मन्दिरमा हिजोदेखि मेला शुरू भएको हो । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति राखिएका छन् । जसलाई अर्धनारेश्वर ‘आदिनाथ’ भनिन्छ ।
मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रूपमा आस्था प्रकट गर्ने गर्दछन् । कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने यो मेलामा काठमाण्डौ उपत्यका तथा वरपर क्षेत्रबाट भक्तजन सहभागी हुने गर्दछन् । मेलामा सहभागी भएमा रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुःख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि छ । लिच्छवीकालीन राजा अंशुबर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्त्विक महत्वको छ । हिन्दू धर्मावलम्बीले शिवशक्तिका रूपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रूपमा आदिनाथलाई पूजा गर्ने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रूपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । मेला अवधिभर हरेक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ ।