२०८२ असोज २१, मङ्गलवार , १०:३५:११ बजे

Sajhamanch
'

दोस्रो टी–२० अभ्यास खेलमा नेपालले कतारलाई हरायो

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई हराएको छ । हिजो भएको खेलमा नेपलाले कतारलाई १६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारलले छ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । कतारका मुहम्मद तनविरले सबैभन्दा धेरै ५१ रन बनाए ।

यस्तै मोहम्मद ब्रइगले ४० र मुहम्मद असीमले ३० रन बनाए । नेपालका करण केसीले तीन तथा दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र ललित राजवंशीले समान एक विकेट लिए ।

त्यसअघि ओमानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले ५६ तथा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान ३८ रन बनाए । कतारका शारिक मुनीर र मुहम्मद इक्रामुल्लाहले समान दुई विकेट लिए ।

यसअघि शनिवार भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई छ विकेटले हराएको थियो । टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा छ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टोलीले भर्खरै संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको थियो । नेपाली टोली यूएईबाट विश्वकप छनोट खेल्न ओमान गएको हो ।

सम्बन्धित खबर