२०८२ असोज २०, सोमवार , ०३:२२:३८ बजे

Sajhamanch
'

गृहमन्त्रीलाई झापा एमालेको चुनौति

बुधवार, असोज १५, २०८२

झापा । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै एमालेले फागुन २१ को निर्वाचनका लागि विश्वासको वातावरण बनाउनु पर्नेमा विथोल्ने काम गरिरहेको आरोप पनि लगाएको छ ।

जेन–जीहरुले जायज माग राखेर गरेको आन्दोलनमा घुसपैठ हुँदा देशले असाधारण क्षति व्यहोर्नु परेको भन्दै झापा एमालेले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।


नेकपा एमाले झापाले अध्यक्ष गिरीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ–

१. २०८२ भदौ २३ गते युवा पुस्ताले आयोजना गरेको शान्तिपूर्ण जनप्रदर्शनमा घुसपैठ गराउने, अशान्ति मच्चाउने र स्थिति भड्काएर करिव डेढ दर्जन होनहार सपुतहरुको ज्यान जाने अवस्था कसरी सृजना भयो भनेर निष्पक्ष छानविनको माग सबै पक्षको छ ।

२. हामी विदेशी दलालका झोले होइनौ । मातृभूमिको रक्षाका लागि शिरमा कफन बाँधेर विदेशी दलाल र निरंकुशताको बिरुद्ध लडेका योद्धाहरु हौं । नेपाली जनताको बलिदानीबाट प्राप्त गरेको समाजवादउन्मुख संविधान र लोकतान्त्रिक गणतन्त्रका पहरेदार हौं । नेकपा (एमाले) र लोकतान्त्रिक पक्षधरहरुलाई तर्साउन खोज्नु गृहमन्त्रीको सर्वथा भूल हुनेछ ।

३. केपी ओली सरकारको वहिर्गमन पछि भदौ २४ गते करिव साढे चार दर्जन नागरिक र सुरक्षाकर्मीको ज्यान गएको छ । अति संवेदनशील सरकारी भवनहरुमा आगजनी गर्ने, तोडफोड गर्ने, लुटपाट गर्ने र रोजिरोजी खोजिखोजी लोकतान्त्रिक नेता, जनप्रतिनिधि, राष्ट्रसेवक, व्यावसायिक प्रतिष्ठान, शिक्षालय, सामाजिक प्रतिष्ठान र शालिकहरु, सहकारी, सरकारी तथा निजी सवारी साधनहरु जलाउने, फोर्ने, कुट्ने, लुट्ने, अपराधी भगाउने जस्ता काम क–कसको अँध्यारो कोठामा, कुनकुन विदेशी दलालको कर्तुतबाट भयो भन्ने कुराको वास्तविकता खुल्न शुरु भएको छ । खबरदार गृहमन्त्रीजी, तथ्यगत र आधिकारिक पुष्टि सरकारले नै गर्नुपर्दछ ।

४. घटनाको निष्पक्ष छानविन गर्नुको सट्टा सत्यतथ्य सूचना मेटाउने, लोकतान्त्रिक प्रणाली र नेताहरुमाथि मनोवैज्ञानिक आक्रमण गर्ने, हाँकाहाँकी अपराधीलाई कानुनको दायरामा ल्याउने प्रहरीको कर्तव्य अपहरण गर्ने फर्मान जारी गर्न कुन अदृश्य दलालको हात छ ? विदेशी गुलाम भएर होइन, चन्द्रसूर्य अंकित झण्डासामु उभिएर जवाफ दिनुपर्दछ ।

५. माननीय गौरीबहादुर कार्की आयोगले निश्चित समयको अध्ययन पश्चात सत्यतथ्य ल्याउनेछ, दूध र पानी छुट्टिनेछ भन्ने नै थियो । उहाँको सोसल मिडियामा भदौ २३ र २४ गतेका घटनाका पूर्वतयारी, योजना र निर्णयसहितको लेखन हाल आएर छताछुल्ल भएको छ । सर्वप्रथम गौरीबहादुर कार्कीको लेखाई र भइरहेको घटनाक्रमको बारेमा नै छानविन कार्य अविलम्ब शुरु गर्न, ढाकछोप नगर्न साथै देशभित्र कसैलाई स्थानहद नगर्न र विदेशी दलालको अर्तिबाट मुक्त भई संविधानवाद, लोकतन्त्र र राष्ट्रभक्तिको मर्यादाभित्र रहन गृहमन्त्रीलाई आग्रह गर्दछौं ।

६. हामी भ्रष्टाचार विरोधि हौ । अहिलेका सत्तावालाले फतुर होइन, सबै आरोपको एकएक छानविन गरौ, अग्नि परीक्षामा होमिन हामी तयार छौं । कुलमा नाम भंजाएका बहालवाला मन्त्रीहरुको सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर, यथार्थता जनताले बुझ्नुपर्छ र सक्कली अनुहार खुल्नुपर्छ । फाल्गुण २१ गते निर्वाचन गर्ने जिम्मेवारी पाएको सरकारले विश्वासिलो वातावरण बनाउनुको सट्टा बिथोल्ने काम गर्दैछ । अति गरे खति पर्ला, ध्यानाकर्षण गर्दछौं ।

सम्बन्धित खबर