
काठमाडौं । नेपालले सन् २०३० भित्रमा रेबिज उन्मूलन गर्ने लक्ष्य लिएकोमा त्यो पूरा हुने सम्भावना कमजोर बनेको छ । कुकुरले टोकेपछि धेरैले खोप नलगाउने गरेका कारण रेबिज उन्मूलनको लक्ष्य पूरा हुने सम्भावना कमजोर बनेको हो ।
कतिपय ठाउँमा खोप उपलब्ध हुँदैन भने धेरैले जानकारीको अभावमा वा लापर्बाही गरेर खोप लगाउँदैनन् । टेकु अस्पतालको तथ्याङ्क अनुसार वर्षेनि ३० देखि ३५ जनाको रेबिजका कारण ज्यान जाने गरेको छ । तर देशभर अभिलेख नभएको सङ्ख्या धेरै हुन सक्ने सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउनुहुन्छ । रेबिज शतप्रतिशत प्राणघातक रोग हो ।
पछिल्लो समय घरपालुवा कुकुरको टोकाइबाट पनि रेबिजको जोखिम बढेको छ । घरपालुवा वा सामुदायिक जुनसुकै कुकरले टोके पनि खोप लगाउनुपर्ने डाक्टर पुन बताउनुहन्छ ।
रेबिजका प्रमुख लक्षणहरूमा पानी र हावादेखि डराउने, टोकेको ठाउँमा चिलाउने, ज्वरो आउने, टाउको र घाँटी दुख्ने, पानी पिउन गाह्रो हुने र उत्तेजित हुने हुन्छन् । रेबिज लागेका कुकुरले जथाभाबी टोक्ने, र्याल काढ्ने, मुखमा फिँज आउने, पानीदेखि डराउने र अस्वाभाविक व्यवहार लक्षण देखाउने गर्छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९३ प्रतिशत रेबिज कुकुरको टोकाइबाट र ७ प्रतिशत अन्य जनावर बाँदर, स्याल, चमेरो लगायतबाट सर्छ ।
यसैबीच आज विश्व रेविज दिवस मनाइँदैछ । रेबिजविरुद्धको खोप पत्ता लगाउने माइक्रो बायोलोजिस्ट लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ तारिखमा यो दिवस मनाइन्छ । पाश्चरले खोप पत्ता लगाएपछि विश्वभर रेबिजबाट हुने मृत्यु ठूलो मात्रामा घटेको हो । रेबिज रोगबारे ४ हजार ३ सय वर्षअघिको इजिप्ट सभ्यतामै उल्लेख छ ।