
दमक । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको नमूना सेवा केन्द्रमा सदस्य बनेर कारोबार गर्दै आउनु भएका गोपीलाल दाहालको निधन पछि संस्थाले आज उहाँको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ सुविधा प्रदान गरेको छ ।
संस्था संचालक समितिका सदस्य गिरिराज भट्टराईको नेतृत्वमा दशगात्रस्थल निजघरमा नै पुगेर संस्थाको टोलीले शोकसभा गरी स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेर सुविधा रकम प्रदान गरेको हो ।
स्वर्गीय गोपीलालले संस्थाको स्पेशल क्रमिक बचत खाता (बीमा बचत) संचालन गरी बचत कारोबार गर्दै आउनु भएको थियो । उक्त खाता सञ्चालन गर्ने सदस्यहरुको मृत्यु हुँदा परिवारलाई संस्थाको सदस्य सुरक्षण कोषबाट नियम अनुसार ५ लाख रुपैँया प्रदान गर्ने गरिएको छ । यसैगरी संस्थाको मृत्यु राहत कोषबाट मानोचामल स्वरुप प्रदान गरिने सुविधा रकम ४० हजार रुपैँया रहेको छ । दाहाल परिवारमा यिनै सुविधाहरु वापत पाँच लाख चालिस हजार रुपैयाँ परिवारमा हस्तान्तरण गरिएको हो ।
नमूना सेवा केन्द्रका प्रमुख शुकदेव बराल, दमक सेवा केन्द्र प्रमुख भीमबहादुर पौडेल, मधुमल्ला सेवा केन्द्र प्रमुख नबिन गौतम, सेवा केन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारीहरु अशोक शर्मा, गुरुराज भण्डारी र गायत्रा पराजुली लगायत शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थितिमा उक्त सुविधा एवम् मानोचामल खर्च प्रदान गरिएको हो ।
यस किसिमको बचत गर्ने सदस्यहरुको मृत्यु पश्चात निजको परिवारले प्राप्त गर्ने बीमा सुविधा बाहेक निजले बचत गरेको सम्पूर्ण रकम निजकै हकवालाले खाता नामसारी गर्न मिल्ने गरी उपलब्ध रहने व्यवस्था छ।
संस्थाको नियम अनुसार उक्त स्पेशल बचत खाता (बीमा बचत) सदस्यको स्वास्थ्य, बचतको प्रकृति तथा एकमुष्ठ बचत बीमाको आधारमा विभिन्न शर्त, नियम र प्रक्रिया भित्र रही संचालन भईरहेको कर्णाली साकोसले जनाएको छ।