
काठमाडौं । नेपाल राष्ट्र बैंकले जेन–जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावितहरूका लागि कर्जाको पुनर्तालिकीकरण सुविधा लागू गरेको छ ।
प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था लागू गर्न बैंकहरूलाई राष्ट्र बैंकले भनेको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना २०८२ साल पुस मसान्तभित्र गरिसक्नु पर्नेछ । पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा २०८२ साल असार मसान्तमा जुन वर्गमा रहेको छ, त्यही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख छ ।
यस्तै जेन–जी प्रदर्शनका क्रममा प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब दिन आधार दरमा बढीमा ० दशमलव ५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था छ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा ६ महिनाका लागि २ प्रतिशत ब्याजदर सरकारबाट अनुदानमा प्राप्त हुनेछ ।