
काठमाडौं । दशैँ मनाउन ओहोरदोहोर गर्ने यात्रुको सङ्ख्या बढेको छ । यतिबेला देशभरका मुख्य सडकमा गाडी निर्वाध रूपमा चलिरहेका छन् । मुग्लिन–नारायणगढ सडकमा पनि समस्या नरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
गाडी आवागमन दुईतर्फी नै भइरहेको र चाप उच्च भएकाले लेन अनुशासनको पालना गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले आग्रह गरेको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौं भित्रिने र बाहिरिने सबै सडकहरुको अवस्था सामान्य रहेको छ ।
भोलि फूलपातीदेखि सरकारी कार्यालय, स्कुलसँगै अरू विभिन्न निकायमा पनि बिदा हुने भएकाले पेसा र व्यवसायमा सङ्लग्न मानिस टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ बढ्नेछ । आज आइतवारसम्म झन्डै सात लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घटस्थापना अर्थात् गएको सोमवारयता काठमाडौं उपत्यका छोड्ने यात्रुको सङ्ख्या क्रमशः बढिरहेको छ । तर दशैँ पर्वका लागि मानिसहरु जन्मथलोमा जाने क्रम चल्दै गर्दा सडकमा सास्ती पाएको गुनासो पनि छ । सडकमा पहिरोको जोखिम, खाल्डाखुल्डी तथा टिकटको अग्रिम बुकिङ खुल्ला नगर्दा यसपाली यात्रामा असहज भएको यात्रुहरुको गुनासो छ ।