
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा मूल माइन्युट प्रमाणिकरण गर्दै शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित माइन्युट प्रमाणिकरण सभामा संस्था सञ्चालक समिति पदाधिकारी एवम् सदस्यहरु, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागिता थियो ।
पत्रकारहरु बाहेक कोही पनि गैर सदस्यहरुको उपस्थिति नरहेको माइन्युट प्रमाणिकरण सभामा सातवटै इकाइगत साधारण सभाबाट चुनिएका २५ जना प्रतिनिधिहरु, संस्थाका विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरुको मात्र सहभागिता थियो ।
असोज ३ गतेदेखि शुरु भएको इकाइगत साधारणसभा असोज ९ गतेसम्म सञ्चालन गरिएको थियो ।
माइन्युट प्रमाणिकरण सभामा संस्थाले शब्दपत्र डटकमका पत्रकार उद्धव पुरीलाई नगद ८ हजार ५०० रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ ।
माइन्युट प्रमाणिकरण सभामा उपस्थितहरुलाई शाब्दिक स्वागत गर्नुहुँदै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले इकाइगत साधारण सभामा ४६ वटा सेवा केन्द्रबाट एकजना उत्कृष्ट बचतकर्ता र एकजना असल ऋण कारोबारी सदस्यलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
सहकारी माथि चौतर्फी हमलाका बावजुद पनि संस्थाले गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल गरेको कार्यकारी प्रमुख बस्नेतले बताउनु भयो । गत आर्थिक वर्षमा ३८ करोडभन्दा बढी वासलात वृद्धि भएर ३ अर्ब ३३ करोड पुगेको छ ।
गत असार मसान्तसम्म संस्थाले लगानी गरेको ऋणको पाकेको ब्याज ७ करोड ४९ लाख रुपैयाँ ऋणि सदस्यहरुले नतिरेको कारण सिम्रिकले लक्षित खुद नाफा आर्जन गर्न नसकेको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।
संस्थाले गत आर्थिक वर्षमा सदस्यहरूलाई स्वास्थ्य उपचार खर्च, कर्जा मिनाहा, व्याज तथा हर्जाना मिनाहा, काजकिरिया खर्च, विपन्न विद्यार्थीलाई स्टेशरी सामान, बालबचतकर्तालाई स्टेशनरी लगायतमा लाखौँ रुपैयाँ खर्च गरेको जनाइएको छ ।
संस्थाले आर्थिक वर्ष २०८२/०८३ का लागि १२ अर्ब ४२ करोड ६५ लाख १३ हजार १७५ रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरेको छ ।
संस्थाका जनसम्पर्क अधिकारी प्रेम बस्नेत (विजय)ले सञ्चालन गरेको कार्यक्रममा अध्यक्षीय मन्तब्य राख्नुहुँदै सुवास भट्टराईले सिम्रिक साकोस सदस्यहरुको सेवाका लागि निरन्तर काम गरिरहेको बताउनु भयो ।
कतिपय सहकारी संस्थाका सञ्चालकहरुले नै ठूलो रकम कर्जा लिएर सदस्यको निक्षेप बिगारिदिएको सुनाउनु हुँदै अध्यक्ष भट्टराईले तीन अर्बभन्दा बढी वासलात भएको सिम्रिकमा सञ्चालकहरुले जम्मा १० लाख हाराहारीमात्र ऋण चलाएको जानकारी दिनुभयो ।
संस्थाको वित्तीय कारोबारलाई थप पारदर्शी बनाउन चाटर्ड एकाउन्टेन्टबाट लेखा परीक्षण गराइएको अवगत गराउनु हुँदै उहाँले बितेको आर्थिक वर्षमा बसेको ११ वटा विशेष बैठकको भत्ता सञ्चालकहरुले नलिएको पनि जानकारी दिनुभयो ।