
काठमाडौं । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । यूएईमा चलिरहेको एसीसी टी– ट्वान्टी एशिया कपको सुपर ४ मा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा पुगेका हुन् । हिजोको खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले यसअघि नै दुई जितका साथ फाइनलमा स्थान बनाईसकेको छ ।
एशिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कप उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक एशिया कप उपाधि जितेको छ । दुबई क्रिकेट रङ्गशालामा पर्सि फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
केही महिनाअघि भारतको जम्मु कश्मिरको पहलगाममा भएको आक्रामणपछि यी दुई देशबीच तनाव भएको थियो । त्यसयता भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । त्यसैले पर्सि हुने फाइनल खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।