
काठमाडौं । भारत र पाकिस्तानले एकअर्काका खेलाडीविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा उजुरी दिएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तानका खेलाडी हरिस रउफ र साहिबजादा फरहानविरुद्ध आईसीसीमा उजुरी दिएको छ । रउफ र फरहानले एशिया कपको ‘सुपर–फोर’ खेलमा अनावश्यक हाउभाउ देखाएको बीसीसीआईको आरोप छ ।
अर्धशतक पूरा गरेपछि फरहानले मनाएको खुशी र फिल्डिङ गर्दा बाउन्ड्रीमा रउफले दर्शकहरूतर्फ गरेको इशारालाई लिएर बीसीसीआईले गुनासो गरेको हो ।
आइतवारको ‘सुपर–फोर’ को खेलमा पाकिस्तानका तीव्र गतिका बलर शाहीन शाह अफ्रिदी र रौफ तथा भारतका ब्याटर अभिषेक शर्मा र शुभमन गिलबीच नोकझोक पनि भएको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि भारतीय कप्तान सूर्यकुमार यादवविरुद्ध आईसीसीमा उजुरी दिएको छ । सूर्यकुमारले एशिया कपमा पाकिस्तानविरुद्धको जीत ‘पहलगाम आतङ्ककारी आक्रमणका पीडितका परिवारहरूलाई’ समर्पित गरेपछि विवाद शुरू भएको हो । पाकिस्तानले सूर्यकुमारको टिप्पणीलाई राजनीतिक भनेको छ ।
भारत र पाकिस्तानबीचको खेल सधैँजसो तनावपूर्ण हुन्छन् । यस पटक एशिया कपको समूह चरणको खेलअघि कप्तानहरूले हात पनि मिलाएनन् भने खेलपछि खेलाडीहरूले एकअर्कालाई अभिवादन पनि गरेनन् ।
समूह चरणमा हात नमिलाएको घटनापछि गएको आइतवारको ुसुपर–फोरु खेलमा खेलाडीहरूबीच चर्काचर्की र तनावपूर्ण क्षण देखिएको थियो । मैदानमा हुने तनाव यस पटक आईसीसीमै पुगेको छ । दुवै देशले एकअर्काविरुद्ध उजुरी दिएपछि अब आईसीसीले यस विषयमा छानबिन गर्नेछ ।