२०८२ असोज ८, बुधवार , ०४:२७:०३ बजे

Sajhamanch
'

शेयर बजार २७ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब रुपैयाँमा सीमित

बुधवार, असोज ८, २०८२

काठमाडौं । लगातार दुई कारोबार दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८९ अङ्कले घटेर २ हजार ६५४ दशमलव ३५ विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर २ दशमलव १६ प्रतिशतले ओरालो लागेको छ । आज १९३ वटा कम्पनीको शेयर घटेकोमा ५३ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माथिल्लो मैलुनखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीका ९४ लाख ८ हजार कित्ता शेयर ४ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।