
काठमाडौं । श्रीलङ्कामा हुने १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपका लागि नेपाली टोली तयारीमा जुटेको छ । आउँदो कात्तिक १७ देखि २४ गतेसम्म श्रीलङ्काको राजधानी कोलम्बोमा १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप हुँदैछ ।
नेपाल भलिबल सङ्घले यो प्रतियोगिताका लागि गएको भदौ ६ र ७ गते दुई दिने छनोटबाट प्रारम्भिक टोली बनाएको थियो । कुमार राईको प्रशिक्षणमा १८ जना खेलाडीले प्रशिक्षण गरिरहेका छन् । माल्दिभ्सको मालेमा सम्पन्न गएको संस्करणमा ५ वटा टोलीले प्रतिस्पर्धा गर्दा नेपाल तेस्रो भएको थियो ।
यस पटक टोलीमा केही अनुभवी खेलाडी रहेकाले तुलनात्मक रूपमा पहिलेभन्दा राम्रो नतिजा आउने आशा रहेको प्रशिक्षक राईले बताए । उनका अनुसार टोलीले डिफेन्स र अट्याकमा काम गरिरहेको छ । जोनजोनमा प्रहार गर्न सकून् भन्ने तरिकाले हरेक दिन सर्भिसमा धेरै समय लगाएर खेलाडीलाई तयारी गरिरहेको राईको भनाइ छ ।
नेपाली टोलीमा भावना तामाङ, नामसरा राना, प्रतिभा चौधरी, निसा महर, मीना चौधरी, अनुस्का कार्की, एन्जिला प्रधान, रूपा लम्साल, जेनिसा विश्वकर्मा, मीना सुनार, आशिका क्षेत्री, क्रिस्मा डाँगी, सम्झना नेपाली, अनिसा थारु, सुनिता खत्री, रेविका लामा तामाङ, विनिता राना र प्रशंसा बौडेल छन् ।
यसैबीच अहिले नेपाली राष्ट्रिय पुरुष टोलीले पनि काभा भलिबल नेशन्स लिगको तयारी गरिरहेको छ । पुरुष काभा नेशन्स लिग आउँदो कात्तिक ५ देखि ११ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुने तय भएको छ । नेपाली पुरुष भलिबल टोली २ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किँदैछ ।
पछिल्लो पटक सन् २०२३ मा चीनमा भएको १९औं एशियन गेम्स र त्यही वर्ष श्रीलङ्कामा काभा च्यालेन्ज कप भलिबल खेलेपछि नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।