२०८२ असोज ८, बुधवार , ११:२१:१२ बजे

Sajhamanch
'

जेनजी आन्दोलन : निजी क्षेत्रको ८० अर्ब भयो जलेर खरानी

बुधवार, असोज ८, २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो। न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो। ऐतिहासिक धरोहरका रूपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमा पनि आगजनी भयो।

चीन सरकारको सहयोगमा निर्माण गरिएको र संघीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो। सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो।

राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए। आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे। लुटपाट भयो। ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्किने प्रयासमा छ। नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन्।

मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो।

नेपाल उद्योग वाणिज्य महासंघलगायतका निजी संस्थाले क्षतिको विवरण सङ्कलन गरिरहेका छन्। यद्यपि, प्रारम्भिक विवरण भने सार्वजनिक गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार निजी क्षेत्रको मात्रै करिब ८० अर्ब बराबरको क्षति भएको छ। अध्यक्ष ढकाल निजी सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउँछन्।

आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न र बुझाउन नसकिएको उनको बुझाइ छ। सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रुपमा लिएको उहाँको भनाइ छ।

शभर चेन निर्माण गरेर व्यापारमा विविधिकरण गर्दै आएको भाटभटेनी सुपरमार्केटमाथि आक्रमण भयो। भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले १० अर्ब ८५ करोड बराबरको क्षति भएको विवरणप्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा दिनुभएको छ। सो व्यापारिक प्रतिष्ठानको १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र नौ वटामा आशिंक क्षति पुगेको छ।

कुल २८ स्टोरमध्ये १६ वटा भने पुनःसञ्चालनमा आइसकेको छ। भाटभटेनीले नेपालीको सबैभन्दा ठूलो चाड दशैँको अवसरमा स्टोर बन्द भएकै कारण कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने यसअघि नै स्पष्ट पारिसकेको छ। उसले दसैँ भत्तासमेत दिने बताएको छ। ‘रोजगारी कोही कसैको पनि जाँदैन, तलब भत्ता पनि रोकिदैन’, गुरुङले भनेका छन्।

भाटभटेनीका स्टोरमा राखिएका पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९३ बराबरको सामग्री पूर्णरूपमा जलेका छन्। यस्तै, झण्डै ५० करोड बराबरको सामग्री तोडफोड र लुटपाट भएको छ।

त्यस्तै, दूरसञ्चार सेवा प्रदायक एनसेलको लैनचौरस्थित मुख्य कार्यालयमा राखिएका दुई दर्जनभन्दा बढी सवारीमा गत भदौ २४ गते आगजनी गरिएको जनाएको छ। मुख्य कार्यालयको पहिलो तल्ला आगजनीका कारण क्षतिग्रस्त छ। १०औँ तल्लासम्म लुटपाट भएको छ। कर्मचारीका व्यक्तिगत सामानसमेत हराएका छन्।

लैनचौरका साथै एनसेलको पोखरा, धनगढी र कञ्चनपुरको महेन्द्रनगरको कार्यालयमा तोडफोड र अगजनी गरिएको छ। सो कम्पनीका करिब ४०० कर्मचारीले हाल घरैबाट सेवा दिइरहेका छन्।

आगजनी र लुटपाटमा बाबजूत सो कम्पनीले तीन दिनसम्म आफ्ना सबै सेवा निःशुल्क दिएको थियो। नेपाल टेलिकमले जस्तै भ्वाइस, इन्टरनेट र एसएमएस निःशुल्क प्रदान गरेको सो कम्पनीले जनाएको छ।

एनसेलको सिमकार्ड बिक्री गर्नेदेखि त्यससँग जोडिएका झण्डै एक लाख बढीले रोजगारी पाएका छन्। मुलुकमा रोजगारी दिनेदेखि आर्थिक क्रियाकलापमा सहयोग गर्ने संघ संस्था, उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले निजी क्षेत्र तस्त्र अवस्थामा रहेको महासंघले जनाएको छ।

होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै झण्डै रु २५ अर्ब बराबरको क्षति पुगेको छ। काठमाडौँमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै आठ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्बद्ध पक्षले जनाएका छन्। यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमाथि आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ।

यस्तै, काठमाडौँको वर्णवास होटल पनि आक्रमणको शिकार भएको छ। व्यवसायी विनोद चौधरीको गुर्जुधारामा रहेको सिजी पार्कमा आगजनी र तोडफोड भएको छ। त्यहाँ राखिएका सामान लुटपाट भएको छ। चौधरीको निवासमा पनि आक्रमण र आगजनी गरिएको विवरण सार्वजनिक भएको छ। चौधरी समूहमा मात्रै करिब पाँच अर्बको क्षति पुगेको प्रारम्भिक आँकलन छ।

महासंघका अध्यक्षसमेत रहेका ढकाल सम्बद्ध चन्द्रागिरि केवलकारको बेस स्टेशनमा लुटपाट र तोडफोड भएको छ। आगजनीका कारण केवलकार बन्द छ। मौलाकालिका केवलकारमा ठूलो क्षति पुगेको छ। चन्द्रागिरिको केवलकार मर्मतपछि तत्कालै सञ्चालनमा ल्याउन सकिए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ।

ढकालको आइएमई समूहले सातै प्रदेशमा केबलकार निर्माण गर्ने योजना अगाडि सारेको छ। सोही क्रममा पूर्वको पाथीभरामा केवलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ।

यस्तै, काठमाडौँको थापाथली, पानीपोखरी, नक्साललगायतका स्थानका गाडी सोरुममा आगजनीका कारण ठूलो धनमालको क्षति भएको छ।

बीमा दाबी २२ अर्ब २५ करोड

जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार बीमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ ।

सम्बन्धित खबर